२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उम्मेदवारहरुको दौडधूप तीव्र बन्दै



पोखरा, निर्वाचनको मिति नजिकिँदै गएपछि कास्कीमा उम्मेदवारहरुको दौडधूप तीव्र बन्दै गएको छ ।

दलहरुले चुनाव चिन्ह लिएपछि मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरु वडाका टोलटोलमा पुगिरहेका छन् । प्रचारप्रसारको समय निकै छोटो भएकाले एकै दिनमा चार पाँचवटा वडामा पुग्नु पर्दा उनीहरुलाई भ्याइनभ्याई छ ।

प्रचारप्रसार गर्ने सवारीसाधनमा उम्मेदवारहरुका तस्वीर टाँसेर माइकबाट भोट मागिरहेको दृश्य यत्रतत्र देखिन्छ । अहिले पोखरानगर क्षेत्रभित्र जताततै गीत बजिरहेको छ । एकपछि अर्को दल माइकबाट गीत बजाउँदै हिँड्दा मतदातामा उत्साह थपिएको छ ।

उम्मेदवारले आफ्नो पार्टीले चुनाव जितेमा टोलमा यो यो काम गर्छौं भनेर प्रतिवद्धता व्यक्त गरेका छन् भने मतदाताले पनि उम्मेदवारहरुलाई आफ्नो टोलमा गर्नुपर्ने विकास निर्माणबारे ध्यानाकर्षण गराइरहेका छन् ।

निर्वाचन जित्न राजनीतिक दलहरुले तालमेल पनि गरेका छन् । पोखरा–लेखनाथ महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच तालमेल भएको छ । माओवादी केन्द्रबाट महानगरको प्रमुख पदमा उम्मेदवारी दिएका विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएर कांग्रेसबाट उम्मेदवारी दिएका रामजी कुँवरलाई समर्थन गरेका छन् ।

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पनि तालमेल भएको छ । महानगरको प्रमुखमा फोरमका हुमबहादुर गुरुङ र उपप्रमुखमा नयाँ शक्ति पार्टीका लक्ष्मी खाती परियार उम्मेदवार बनेर मतदाताको घरदैलोमा पुगेका छन् ।

महानगरको वडा नं १३ मा नेकपा (माओवादी केन्द्र) र राप्रपाबीच एक अर्कालाई वडाध्यक्ष र सदस्यमा सघाउने गरी तालमेल भएको छ । जिल्लामा ३७० पदका लागि एक हजार ५२४ जना उम्मेदवार चुनावी मैदानमा उत्रेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

पोखरा–लेखनाथ महानगरपालिका र रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा गरी दुई लाख २४ हजार ८११ मतदाता रहेका छन् । जिल्लामा १५० मतदानस्थल र २८८ मतदान केन्द्र तोकिएको छ भने निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय झन्डै एक हजार ५०० कर्मचारी खटाउने तयारीमा छ । रासस

प्रकाशित मिति : २४ बैशाख २०७४, आइतबार ००:००