Logo

बनेपा नगरपालिकाद्धारा घरघरमा आँखा जाँचसेवा प्रदान



 

मङ्सिर १३, काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले आफ्नो १४ वटा वडाका घरघरमा आँखा जाँचसेवा प्रदान गरिरहेको छ । नगरपालिकाले बनेपास्थित रेयुकाई एईको मासुनागा अस्पतालको सहकार्यमा एक महीनादेखि नगरवासीका घरघरमा गएर स्वास्थ्कर्मीले सेवा प्रदान गरेका हुन् ।

बनेपा नगरपालिका–२ टुकुचा नालामा आँखा जाँच गरिरहेकी स्वास्थ्यकर्मी अप्सरा लामिछानेले नगरको १२, १३ र १४ वडामा आँखा जाँचसेवा प्रदान गरिसकिएको बताइन् ।

लामिछानेले तीन दिनमा तीन सय जनाको आँखा जाँच गरेका मध्ये १६ जनालाई रेफर गरेकी छन् । उनका अनुसार जाँच गरेपछि कमजोर तथा मोतियाविन्दु भएका आँखाका रोगीलाई मासुनागा अस्पताल रेफर गरिएको छ ।

नगरका घरघरमा स्थानीय स्वास्थ्य चौकीका स्वाथ्यकर्मी डोरीको दूरी बनाएर आँखा जाँच गरिरहेका छन् । बनेपा नगरपालिका–२ टुकुचा नालाकी ५२ वर्षीया कान्छी घिमिरेले घरमै आँखा जाँच गर्न पाएकामा खुशी व्यक्त गरिन् । उनले भनिन्, “घरमै आँखा जाँच्न पाउँदा खुशी छौँ, अस्पताल जान नसक्नेका लागि धेरै राम्रो ।”

नगरका सबै वडामा आँखा जाँच भइसकेपछि रिफर गरिएका सबै प्रकारका आँखा रोगीको अस्पतालले निःशुल्क उपचार गर्ने सम्झौता भएको छ । नगरप्रमुख लक्ष्मीनरसिंह वादेले भने, “नगरका अशक्त र असहायसमेत समेटिने उद्देश्यले घरघरमा आँखा जाँचको कार्यक्रम गरेका हौँ ।”
रासस

प्रतिक्रिया दिनुहोस्