३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माङ्सेबुङ गाउँपालिकाः लिम्बू भाषा सरकारी कामकाजी भाषा



 

गोविन्द लामिछाने
मङ्सिर १२, मङ्गलबारे ।

नेपालमै पहिलो पटक इलामको माङ्सेबुङ गाउँपालिकाको लारूम्बामा ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याउन लागिएको छ । लिम्बू समुदायको बाहुल्य रहेको गाउँपालिका ५, लारूम्बाले सरकारी कामकाजी भाषाका रूपमा लिम्बू भाषालाई कार्यान्वयन गर्ने वडाध्यक्ष अध्यक्ष नेरन्द्र राईले जानकारी दिए ।

वडामा कामकाजी भाषाका रूपमा ‘लिम्बू भाषा’ को कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा भएको वडाध्यक्ष राईले बताए । कार्यान्वयनको औपचारिक घोषणा इलाम क्षेत्र नं २ का प्रदेशसभा सदस्य धीरेन्द्र शर्माले विहीबार गर्ने वडा कार्यालयले जनाएको छ ।

वडामा दोभाषे कर्मचारी नभए पनि ‘लिम्बू भाषा’ र ‘किराँत सिरिजङ्घा लिपि’ को आधार क्षेत्र भएकाले माङ्सेबुङबाटै सरकारी कामकाजमा ‘लिम्बू भाषा’ प्रयोग गर्ने तयारी गरिएको वडाध्यक्ष राईले बताए ।

गत १५ कात्तिकमा वडामा बसेको विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी र सङ्घसंस्थाको संयुक्त बैठकले नेपालमै पहिलोपटक ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो । “मैले एक्लैले यस्तो निर्णय गरेको होइन, स्थानीयवासी, बुद्धिजीवी तथा राजनीतिक दलको सहयोगमा निर्णय भएको हो,” उनले भने, “यो निर्णयले लिम्बू समुदायका नागरिकलाई ठूलो टेवा पुग्नेछ ।” यहाँ ६० प्रतिशत लिम्बू र ४० प्रतिशत अन्य जातिको बसोबास रहेको छ ।

हालसम्म वडा र गाउँपालिकामा कोही पनि बहुभाषिक कर्मचारी नियुक्त भएका छैनन् । स्थानीय भाषा कामकाजी भाषाका रूपमा प्रयोग हुन थालेपछि गाउँपालिकासँग दोभाषे कर्मचारी नियुक्त गर्न माग गरिने वडाध्यक्ष राईले बताए । तत्काल लिम्बू भाषा जान्ने स्थानीय पाँच स्वयंसेवकबाट सहयोग लिइने उनको भनाइ छ । त्यसका लागि स्वयंसेवक समितिसमेत गठन गरिएको छ ।

समितिले गाउँपालिकाबाट दोभाषे कर्मचारी नियुक्त नभएसम्म स्वयंसेवकका रूपमा दिलहाङ शेर्मा, इन्द्र आङदेम्बे, ललितचन्द्र फियाक, सञ्चहाङ साम्बहाम्फे र केशेहाङ्मा थेगिमले काम गर्नेछन् ।

संविधानले स्थानीय भाषालाई समेत सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरकारलाई दिएको भए पनि आवश्यक जनशक्तिको अभावमा कार्यान्वयन नगरिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए । यसअघि गाउँपालिकाले पालिकाभरिका सरकारी कार्यालयको सूचना पाटी देवनागरी र किराँत सिरिजङ्घा लिपिमा राख्ने निर्णय गरिसकेको छ ।
रासस

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार ००:००