१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुनी फेरेको रानीतलाउ, आकर्षक पर्यटकीय क्षेत्र



 

काशीराम शर्मा
मङ्सिर १२, बाँके ।

लामो समयदेखिको बेवास्ताका कारण टन्न घाँस उम्रिएर सुख्खा बनेको रानीतलाउले जुनी फेरेको छ । नगर प्रमुख डा धवलशमसेर राणा निर्वाचित भएलगत्तै जीर्णोद्धार गर्ने निर्णय अहिले कार्यान्वयनमा आएपछि नेपालगन्ज उपमहानगरपालिका भित्रको उक्त तलाउ आकर्षक पर्यटकीय क्षेत्र पनि बन्न पुगेको छ ।

नेपालगञ्जसित रानीतलाउको इतिहास गाँसिएकाले यसको छुट्टै महत्व छ । चार दशक अघिसम्म उक्त तलाउको स्वरुप नै अर्को थियो । चारैतिर खुला रहेको उक्त तलाउमा स्थानीयवासीले नुहाउने, र धार्मिक कार्य गर्दै आएका थिए । त्यसबेला आकाशे पानी जम्मा भएर पनि तलाउ सफा नै हुने भएकाले सर्वसाधारणले नुहाउने गरेको यहाँका जानकारहरूले बताए ।

“रानीतलाउमा चार कुनामा रहेका स्तम्भबाट पौडी खेल्नेहरुले हामफाल्ने र मध्यभागमा रहेको स्तम्भमा पुगेर विश्राम गर्ने गर्दथे,” नेपालगञ्ज ८ निवासी विष्णुलाल कुमालले भने । त्यति मात्र नभई रानीतलाउको पूर्वभागमा रहेको ठूलो पिपलको रुखमा पूजाआजा गर्ने र पितृको तर्पणलगायत धार्मिक कार्य गरिन्थ्यो ।

होलीको समय होली जलाउने र पूजा गर्ने परापूर्वदेखिको परम्परा यद्यपि कायमै छ । अहिले पनि होलिका दहन उक्त तलाउको पूर्वनिर्धारित स्थानमै गरिन्छ ।

उक्त तलाउको मुहार फेर्ने र त्यसमा जलविहार गर्ने योजना विसं २०४९ मा निर्वाचित नगर प्रमुख विजयकुमार गुप्ताको समयमा नै बनेको थियो । नेपालगञ्ज नगर विकास समितिको तत्कालीन अध्यक्षसमेत रहेका गुप्ताले नयाँ सडक निर्माण, एकलैनी बाटो विस्तार, रानीतलाउ तथा तत्कालीन महेन्द्र पार्कको ढाँचामा परिवर्तन गरी हेर्न लायक बनाउने योजना बनाए पनि आर्थिक अभाव हुनाका साथै उनको कार्यकाल सकिएकाले उक्त तलाउ र महेन्द्रपार्क योजनाले पूर्णता पाउन सकेको थिएन ।

विसं २०५४ मा नगर प्रमुखमा निर्वाचित धवलशमसेर राणाको पालामा रानीतलाउको मुहार फेर्नुका साथै बोटिङ गर्ने व्यवस्था गरिए पनि उनको कार्यकाल पनि सकिएको र त्यसपछि कर्मचारीबाट स्थानीय निकाय सञ्चालन हुन थालेपछि सो स्थल उपेक्षित बन्न पुगेको थियो ।

बेलाबखत उक्त तलाउ जीर्णोद्धार गर्ने नाममा थुप्रै धनराशि छुट्याएर खर्च गरिएको देखाइए पनि त्यस अनुरुपको काम हुन नसकेकामा आर्थिक वर्ष २०७४÷७५ को अन्त्यदेखि कोषमा रहेको केही रकमले तलाउको सम्भार थालिएर अहिले सो योजनाले पूर्णता पाएसँगै नेपालगञ्जवासी पनि खुशी भएका छन् ।

एक्काइस वर्षदेखि जीर्ण त्रिभुवनचोक पूर्वमा रहेको उक्त तलाउमा डुङ्गा सञ्चालन भएसँगै स्थानीय र भारतीय पर्यटकसमेत बढ्न थालेका वडा नं ८ का वडासदस्य विवेक उपाध्यायले बताए । “रानीतलाउमा डुङ्गा सयर गरेर मनोरञ्जन लिने पर्यटकको शनिबार धेरै भीड हुन्छ,” उनले भने, “यहाँ घुम्ने पर्यटक खुशी भएर फर्किन्छन्, यसले गर्दा हामीलाई पनि रानीतलाउलाई थप व्यवस्थित गर्ने हौसला मिलेको छ ।”

स्थानीय सरकारले उक्त तलाउ पुनःमर्मत गरी सञ्चालनमा ल्याएसँगै घुम्नका लागि नेपालगञ्ज आउने भारतीय पर्यटकको यो स्थल रोजाइमा परेको र आन्तरिक पर्यटकको पनि आकर्षण बढेको स्थानीयवासी अञ्जना चतुर्वेदीले बताइन् ।

उनले भनिन्, “बालबालिकाका लागि मनोरञ्जन लिने उपयुक्त स्थान बनेको छ ।” उक्त तलाउको चर्चा सुनेर घुम्न आएको बताउँदै स्थानीय मेनुका रावतले भनिन्, “संरक्षण नभएर जीर्ण अवस्थामा रहे पनि अहिले रानीतलाउ नेपालगञ्जकै रमाणीय ठाउँमा परिणत भएको छ ।”

आर्थिक दृष्टिले पनि महत्वपूर्ण रहेको यस तलाउमा छ वटा प्लाष्टिकका डुङ्गा र बालबालिकाले खेल्ने सामग्री राखेर सञ्चालनमा ल्याइएको छ । रानीतलाउ बोटिङ विहार समितिले त्यहाँ प्रवेश गर्न पाँच र बोटिङका लागि २५ टिकट मूल्य तोकेको छ ।
रासस

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार ००:००