१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागलुङ नगरपालिकाः घरमै पानी आएपछि स्थानीयवासी दङ्ग



 

कात्तिक २९, बागलुङ । वषौँदेखि खानेपानीको समस्या झेल्दै आएका बागलुङ नगरपालिका ४ छापाका स्थानीयवासी घरमै पानी आएपछि दङ्ग छन् । दैनिक एक घण्टा लगाएर पानी भर्नुपर्ने समस्याले आजित भएका स्थानीय घरमै पानीको धारो आउँदा हर्षित भएका हुन् ।

“हामी पानीको लागि दैनिकी गुजार्दै आएका थियौँ” छापाका स्थानीय भूमिस्वर सापकोटाले भने, “खानेपानी ल्याउने धेरै प्रयास भए सबै प्रयास असफल भएपछि खानेपानी पाउने आशै थिएन तर आज घरकै धारामा पानी खस्दा आश्चर्यमा परेका छौँ ।”

बागलुङ नगरपालिकाको ‘एक घर एक धारा’ अभियान अन्तर्गत छापामा ११९ घरमा धारा जडान भएपछि यहाँका स्थानीयमा खुशियाली छाएको छ । “अबको पाँच वर्षमा नगरका सबै घरमा पानीका धारा हुन्छन्” बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने, “मेरो कार्यकालमा पानीको समस्या अन्त्य गर्ने सोचमा छु ।”

कुँडुले छापा खानेपानी आयोजनालाई नगरपालिकाको आर्थिक तथा स्थानीयको श्रमदान गरी कूल १ करोड ३२ लाखको लागतमा आयोजना सम्पन्न गरिएको कुँडुले छापा खानेपानी आयोजनाका अध्यक्ष विवेक हमालले बताए ।

“मुहान विवादका कारण लामो समय अलपत्र परेको आयोजना हाल आएर सम्पन्न भएको छ”, हमालले भने, “स्थानीयको लगाव र नगरपालिकाको पहलमा आयोजनाले सार्थकता पाएको छ ।”

सिस्नेखोला तथा भुतेको छहराबाट पानी ल्याई एक लाख लिटरको ट्याङ्की निर्माण गरी गुरुत्वाकर्षण प्रविधिको प्रयोगबाट घरघरमा पानी वितरण गरिएको आयोजनाका इञ्जिनीयर गौरव शर्माले बताए ।

आयोजनामा दुई इन्टेक ट्याङ्की, एक रिर्जभ ट्याङ्की, २५ च्याम्बर निर्माण गरी घरघरमा खानेपानी वितरण गरिएको छ । बागलुङ नगरपालिकाले नगरभित्रका करीब ६०० घरधुरीमा ‘एक घर एक धारा’ निर्माणाधीन अवस्थामा रहेको जनाएको छ ।
रासस

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहिबार ००:००