२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकीकृत घुम्ती शिविरबाट धौलागिरी गाउँपालिका लमसुङका २५० लाभान्वित



 

कात्तिक १९, म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका २ लमसुङमा आइतबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट करीब २५० सर्वसाधारण लाभान्वित भएका छन् ।

भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयमा आएर सेवा लिन नसकेका बासिन्दालाई लक्षित गरेर गाउँपालिका र वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा शिविर सञ्चालन भएको हो ।

शिविरमा नागरिकता वितरण, स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्रका लागि सिफारिश लगायतका सेवा दिइएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।

उनका अनुसार ८० जनालाई नागरिकता वितरण गरिएको छ । ७६ वर्षीया डिलमती पाइजालाई नागरिकता प्रदान गरेर शिविरको शुभारम्भ गरिएको थियो । ६७ वर्षको उमेरमा नागरिकता लिएका बलवीर रसाइलीले गाउँमै सेवा पाउँदा समय र सदरमुकाम पुग्दा हुने खर्चको बचत भएको बताए । सोही शिविरका क्रममा महिला तथा बालबालिका कार्यालयको टोलीले ११ जनालाई अपाङ्गता परिचयपत्रका लागि सिफारिश गरेको छ ।

बेनी अस्पतालका चिकित्सक डा विराट शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले १५० जनाभन्दा बढीलाई स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण सेवा दिएको थियो । यसअघि शुक्रबार र शनिबार धौलागिरि गाउँपालिकाको दुर्गम बस्ती गुर्जामा सञ्चालित एकीकृत घुम्ती शिविरबाट ५०० ले सेवा लिएका थिए ।
रासस

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार ००:००