२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम्पत्ति करबारे पढाउँदै बाँकेको खजुरा गाउँपालिका



 

कात्तिक १४, बाँके । स्थानीय तहले अध्ययन नै नगरी करको दायरा बढाएको भन्दै नागरिकबीच सकारात्मक र नकारात्मक आलोचना भइरहेका बेला बाँकेको खजुरा गाउँपालिकाले नागरिकलाई एकीकृत सम्पत्ति करका बारेमा जानकारी दिन टोलटोलमा कर शिक्षा अभियान शुरु गरेको छ ।

सबैलाई करको दायरामा ल्याउन र करका विषयमा जानकार बनाउन टोलटोलमा कर शिक्षा दिइरहेको खजुरा गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपतिले बताए ।

गत साउन १ गतेदेखि लागू भएको एकीकृत सम्पत्ति करका विषयमा नागरिकको बुझाइमा केही भिन्नता देखिएपछि कर शिक्षा अभियान सञ्चालन गर्नुपरेको उनले स्पष्ट पारे ।

राजश्व सङ्कलनदेखि वैज्ञानिक प्रणालीमा आधारित भएकाले पछिल्लो समयमा जग्गासमेत व्यावसायिक प्रयोजनमा गइसकेकाले एकीकृत सम्पत्ति कर उपयुक्त हुने उनको ठहर छ । हालसम्म जमीनलाई अब्बल, दोयम, सीम र चाहार गरी चार भागमा वर्गीकरण गरिएकाले सोहीअनुसार कर तिर्नुपर्थ्यो ।

एकीकृत सम्पत्ति कर प्रणालीमा आएसँगै सबै नागरिकका लागि सामाजिक लाभ बराबरी भएको विज्ञ समूहका सदस्य पूर्णचन्द्र उपाध्यायले बताए । उनले भने, “हामीले तिरेको करको लाभ पनि सोहीअनुसार वितरण हुने वैज्ञानिक पद्धति भएकाले राज्यबाट पाउने सेवा सुविधा पनि सोहीअनुसार वितरण हुनेछ ।”

एकीकृत सम्पत्ति करका बारेमा नागरिकलाई थप जिम्मेवार बनाउन गाउँपालिकाले करदाता परिचयपत्र लागू गर्ने विषयमा छलफल गरिरहेको छ । नागरिकले तिरेको करका विषयमा पारदर्शीतासँगै कुन टोल वा वडाबाट कति कर सङ्कलन भयो भन्ने विषयमा एकिन हिसाव राख्न करदाता परिचयपत्रले सहज बनाउने गाउँपालिकाले जनाएको छ ।

अभियान सञ्चालनका लागि गाउँपालिकाले यसअघि गाउँकार्यपालिकाका सदस्य, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि र नागरिक अगुवालाई एकीकृत सम्पत्ति करबारे प्रशिक्षण दिएको थियो । सोही टोलीले गाउँपालिकाका–८ वडाका टोलटोलमा पुगेर सम्पत्ति करबारे जनतालाई बुझाउने छ ।

गाउँपालिकाका सबै नागरिकलाई कर शिक्षाबारे जानकारी दिएपछि मात्रै एकीकृत सम्पत्ति कर लागू गर्ने योजनाअनुसार अभियान चलाइएको गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले जानकारी दिइन् ।
रासस

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार ००:००