१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुईचरणबारे परामर्श नभएकामा आश्चर्यचकित छौं – एमाले



काठमाडौं, संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह दोस्रो चरणको निर्वाचन आगामी जेठ १५ अगावै गर्ने गरी सरकारलाई परामर्श दिन विहिबार निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

संसदीय दल उपनेता सुवास नेम्वाङको नेतृत्वमा गएको टोलीले अहिले तोकिएको दोस्रो चरणको निर्वाचनको मिति सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेट, एउटा निर्वाचन र अर्को निर्वाचनबीचको समयावधि र मुस्लिम समुदायको रमजान पर्वसमेतका दृष्टिकोणबाट उपयुक्त नभएको जनाउँदै आयोगलाई लिखित रुपमा ध्यानाकर्षण गराएको हो ।

यही वैशाख ३१ गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनलाई पार्टीले निसंकोचका साथ, समर्थन र स्वागत गरेको स्मरण गराउँदै एक महिनाको अन्तरालमा दुई चरणको निर्वाचन गर्ने घोषणाले अन्योल, अनिश्चितता र द्विविधा उत्पन्न गरेको जनाइएको छ ।

ध्यानाकर्षणपत्रमा भनिएको छ – यति गम्भीर निर्णय गरिँदा निर्वाचन आयोगले प्रमुख प्रतिपक्षी दलसंग सामान्य परामर्श गर्नु पनि आवश्यक नठानेकामा हामी आश्चर्यचकित भएका छौँ ।

पहिलो चरणको निर्वाचन समाप्त भएपछि अर्को चरणको निर्वाचन प्रारम्भ हुनुअगावै मतगणनाको परिणाम प्रकाशन गर्ने कुराले निर्वाचनको स्वच्छता, मान्यता एवं निष्पक्षतामा आघात समेत पुर्याउने निश्चित भएको जनाउँदै उक्त पार्टीले दुवै चरणको निर्वाचनको बीचमा मतगणना गर्ने लगायतका कुनै पनि कार्य गर्न नहुनेमा जोड दिएको छ ।

संविधानले जेठ १५ मा बजेट ल्याउनुपर्ने सुनिश्चित र प्रष्ट नवीनतम व्यवस्थाको अभ्यास समेत आइसकेको जनाउँदै नेकपा एमालेले बजेटको प्रस्तुतिलाई टार्न र बजेटको माध्यमबाट मतदातालाई प्रभावित गरेर निर्वाचनमा आँच पुर्याउने कार्य गर्न नमिल्ने हुँदा त्यस अगावै निर्वाचनको व्यवस्था गर्न सुझाव दिएको छ ।

दोस्रो चरणको चुनावको मिति तोकेको दिन, इस्लाम धर्मावलम्बीको रमजानको दिन परेकाले उनीहरु मतदानमा भाग लिन नसक्ने पक्षलाई हेक्का गर्न आवश्यक रहेको कुरालाई पनि ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउनु अहिलेको आवश्यकता भएको जनाउँदै सञ्चारकर्मीको जिज्ञासामा संसदीय दलका उपनेता नेम्वाङले पहिलो चरणको उम्मेदवारको दर्ता गर्ने कार्य उत्साहपूर्वक सम्पन्न भएको बताए ।

निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गरी बढीभन्दा बढी मतदातलाई निर्वाचनमा सहभागी बनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन उक्त पार्टीले सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले तपार्इंहरुले उठाउनुभएको मुद्दा राजनीतिक निर्णयसँग सम्बन्धित भएकाले यस विषयमा सरकारसँग छलफल गर्ने सुझाव दिनुभएको नेता नेम्वाङले जानकारी दिए । टोलीमा राधा ज्ञवाली, राजेन्द्र पाण्डे, अग्नि खरेल र कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरू थिए ।  रासस

प्रकाशित मिति : २१ बैशाख २०७४, बिहिबार ००:००