३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फुटबल क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग



 

कुमार चौलागाई
असोज २९, काठमाडौं ।

ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको बोर्ड बैठकले जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, जावलाखेल र च्यासल युथ क्लबलाई वार्षिक चार लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको महानगरका सूचना अधिकारी रुद्र गौतमले जानकारी दिए ।

त्यसैगरी जिल्लाका ‘बी’ डिभिजनका क्लबलाई वार्षिक तीन लाख र ‘सी’ डिभिजन क्लबलाई वार्षिक दुई लाख उपलब्ध गराउने निर्णय महानगरले गरेको उनले जानकारी दिए ।

नगर परिषद्को बैठकले फुटबल विकासमा लागेका शीर्ष डिभिजनका क्लबलाई आर्थिक सहयोग गर्ने प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई महानगरको बोर्ड बैठकले पारित गरेको हो । त्यसैगरी जिल्लाका ‘ए’ डिभिजन क्लबहरुले राष्ट्रियस्तरको कुनै पनि प्रतियोगिता जिते उपाधिपिच्छे थप चार लाख महानगरले उपलब्ध गराउनेछ ।

बोर्ड बैठकले थ्रीस्टार क्लबलाई २८ लाख आर्थिक सहयोग समेत उपलब्ध गराउने निर्णय गरेको छ । गत वर्ष सात वटा प्रतियोगिताको उपाधि जितेर जिल्लाको गरिमा बढाउने काम गरेको भन्दै महानगरले प्रत्येक उपाधि बापतको चार लाखका दरले २८ लाख क्लबलाई दिने निर्णय गरेको हो । यसअघि काठमाडौं महानगरले जिल्लाका छ वटा ए डिभिजन क्लबलाई वार्षिक १० लाख दिने यसअघि नै घोषणा गरिसकेको छ ।

फुटबलको विकासका लागि स्थानीय तहहरुले अग्रसता देखाउनु सकारात्मक भएको बताउँदै एन्फा महासचिव इन्द्रमान तुलाधरले भने, “खेलकूदको विकासका लागि राजनीतिक अग्रसरता हुनु सरहानीय छ ।”

सहयोग बढाउँदै लैजान्छौँ– महानगर प्रमुख महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फुटबलको विकासका लागि महानगरले सहयोग उपलब्ध गराएको बताए । महर्जनले भने, “खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्सहानका लागि नगरसभाबाट पारित गरी हामीले सहयोग उपलब्ध गराएका हौँ, सहयोगले फुटबलको विकासमा लागि मद्दत पुग्छ ।”

अहिले ए डिभिजन लिगसमेत शुरु भएको बताउँदै उनले महानगरको सहयोगले ती क्लबलाई लिगमा सहभागिता जनाउन थप सहज भएको प्रतिक्रिया दिए । लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा राजनीति र खेल क्षेत्र टाढा भएको बताउँदै अबका दिनमा सहयोग निरन्तर जारी रहने महानगर प्रमुख महर्जनले बताए ।
रासस

प्रकाशित मिति : २९ आश्विन २०७५, सोमबार ००:००