२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडाैं महानगरले दशैँलगत्तै राजधानीका भित्री शहर पुनःनिर्माण गर्ने



 

शर्मिला पाठक
असोज २८, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले दशैँलगत्तै भित्री शहरको पुनःनिर्माण र धुलो न्यूनीकरण गर्न प्राथमिकताको साथ लाग्ने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले निर्वाचनको समयमा जनतासामु गरिएको प्रतिबद्धता धेरै कुरा पूरा गर्ने क्रममा रहेको र केही दशैँलगत्तै शुरु गर्ने बताए ।

‘क्लिन द सिटी’ अभियान, आठ मिटरभन्दा कम चौडाइका सडक मर्मत र वडालाई सशक्तीकरण गरी नागरिकलाई सेवा प्रदान, ज्येष्ठ नागरिकलाई घरघरमा भत्ता र स्वास्थ्य उपचार सेवा, भूकम्पका कारण भत्किएका सम्पदाको पुनःनिर्माण र अनलाइनमार्फत नक्सा पासजस्ता कार्य कामपामा भइरहेको छ ।

लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि आएका छन्, काम विस्तारै हुन्छ १५ वर्षसम्म हुन नसकेको काम एक वर्षमा नै पूरा गर्नु असम्भव हुन्छ त्यसैले काम गर्न समय लागेको हो । काठमाडौंलाई सफा बनाउनका लागि दुई वटा बु्रमर चीन सरकारले दिइसकेको र १२ करोडको लागतमा पाँच वटा ल्याउने अन्तिम तयारी रहेकाले सडक सफा राख्न अब कामपालाई कठिन नहुने पनि बताइएको छ ।

हरियाली महानगरका लागि यस आर्थिक वर्षभित्रमा नै १० हजार बिरुवा रोप्ने तयारी पनि कामपाको छ । हाल खुलामञ्चमा अव्यवस्थितरुपमा रहेको बसपार्क थप व्यवस्थापनको कामलाई पनि दशैँपछि नै नै शुरु गर्ने कामपाको तयारी रहेको छ ।

शाक्यले भने, “असन, न्यूरोड, सुन्धारा लगायत स्थानमा रहेका भित्री सडकको मर्मत कार्य र सडक सफा गरी सुन्दर, नूनदेखि सुनसम्म पाइने मिनी असन निर्माण र हरियाली बनाउने कामका लागि दशैँलगत्तै शुरु गरिनेछ ।”

कामपाले चालू आव २०७५÷७६ का लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा ४ अर्ब ६ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिनेछ ।

कामपाभित्र करीब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपाले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्छ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।

यसैगरी कामपाले चालू आवमा पैदल यात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्ने भएको छ । दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो ।

कामपाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जीनीयर रामबहादुर थापाले भने, “दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र पैदल यात्रुको सुरक्षा गर्न पुल बनाइनेछ ।” यस्त पुल निर्माण गर्न पाँच स्थानका लागि स्वरुप पनि तयार भइसकेको छ ।

टेकु भन्सार, त्रिपुरेश्वर, माइतीघर, बबरमहल ९काठमाडौँ जिल्ला अदालत०, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पुल बनाइनेछ । सवारी साधनको अत्यधिक चाप हुने सो क्षेत्रमा त्यस्तो पुलको अभावमा पैदल यात्रुलाई बाटो काट्न समस्या पर्दै आएको छ ।

पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी चापको अवस्था देखिँदै आएको छ । नयाँ ती पुल बनाउन १२ करोड बजेट विनियोजन गरिएको प्रमुख थापाले बताए ।

सिसडोल सरकारले निर्माण गर्ने

काठमाडौंको मुख्य समस्याका रुपमा रहेको फोहर व्यवस्थापनको दीर्घकालीनरुपमा स्थान व्यवस्थापनको काम केन्द्र सरकारले नै गरिनुपर्ने पनि कामपाले जनाएको छ । केन्द्र सरकारले स्थानीय तहको समस्या रहेकाले व्यवस्थापन केन्द्र निर्माणको काम स्थानीय तहको नै रहेको हुँदा कामपाका प्रमुख शाक्यले त्यस किसिमको अभिव्यक्ति दिएका हुन् ।

प्रमुख शाक्य भन्छन्, “केन्द्र सरकारले निर्माण गरेको स्थानमा फोहर व्यवस्थापन गर्ने काम मात्र स्थानीय तहको हो, स्थान निर्माणको काम हाम्रो होइन ।” यसरी केन्द्र सरकार र स्थानीय तहबीच विवाद भइरहँदा काठमाडौं उपत्यकामा फोहरको समस्या दैनिकरुपमा नै बढ्दै गएको छ ।

यसअघि व्यवस्थापन गरिँदै आएको स्थानमा दैनिक एक हजार २०० मेट्रिक टन फोहर २०० गाडीबाट सिसडोल लगिने गरिएको छ । दुई वर्षका लागि भन्दै १३ वर्षअघि सरकारले लिएको नुवाकोट ककनी गाउँपालिकाको सिसडोलमा अहिले फोहर व्यवस्थापन गर्न मिल्ने अवस्था छैन । सम्बन्ध भएको निकायले यस विषयमा ध्यान नदिने हो भने अबको एक महीनामा काठमाडौं उपत्यकाको फोहर सडकमा नै रहनेछ ।

धादिङ र नुवाकोटको सिमानामा निर्माण गर्न लागिएको स्थायी रुपको फोहर व्यवस्थापन गर्ने स्थान तय गर्नका लागि कम्तीमा तीन वर्षको समय लाग्ने पनि प्रमुख शाक्य बताउछन् ।
रासस

प्रकाशित मिति : २८ आश्विन २०७५, आइतबार ००:००