१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनकाे निर्वाचन केन्द्रित सुरक्षा याेजना



चितवन, जिल्लामा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सुरक्षा समितिले तयार पारेको एकीकृत सुरक्षा योजनालाई पुनरावलोकन गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।

यसअन्तर्गत जिल्लामा रहेका सातवटै तहको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

जिल्लामा रहेका एकसय ६१ मतदानस्थलको सुरक्षाका लागि प्रहरी परिचालन भइसकेको छ भने मंगलबारदेखि म्यादी प्रहरीको समेत परिचालन गरिएको छ । सुरक्षा समितिले जिल्लामा रहेका मतदानस्थलमध्ये ४९ वटा अति संवेदनशील, ५९ संवेदनशील र ५३ सामान्य गरी वर्गीकरण गरेको छ ।

वर्गीकरणका आधारमा सुरक्षा व्यवस्था कडा पारिएको थापाले बताए । थापाका अनुसार जिल्लामा निर्वाचनको समयमा तीनहजार दुईसय १५ जना नेपाल प्रहरी, एक हजार दुई सय ५५ म्यादी प्रहरी, चारसय २० सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुनेछन् । हरेक तहमा तीनवटै सुरक्षा निकायको एक–एक टुकडी राखिएको छ । सेनाले निर्वाचनको समयमा बाह्य सुरक्षा दिनेछ भने सशस्त्र दोस्रो घेरामा रहने व्यवस्था गरिएको छ ।

यस्तै, नेपाल प्रहरी, म्यादी प्रहरी पहिलो घेरामा हुनेछन् भने राष्ट्रिय अनुसन्धानका गुप्तचरले हरेक स्थानबाट सूचना दिनेछन् । यसबाहेक प्रत्येक तहमा सशस्त्र प्रहरीको दुई–दुईवटा मोबाइल स्कर्टिङ टोली राखिनेछ । निर्वाचनको समयमा हुन सक्ने खतरालाई मध्यनजर गर्दै सुरक्षा समितिले निर्वाचनको समयमा दङ्गाफसादलाई नियन्त्रणमा लिनका लागि मतदानस्थलमा नेपाल प्रहरीको टोली तीन, सशस्त्र प्रहरी पाँच र नेपाली सेना १० मिनेटमा पुग्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको प्रहरी उपरीक्षक थापाले बताए ।

यसैक्रममा जिल्लामा रहेका सातसय १४ जना नेपाल प्रहरीलाई निर्वाचनसम्बन्धी अनुशिक्षण समेत गराई सकिएको छ । जिल्लामा थप मद्दतका लागि आएका प्रहरीमध्ये नौसय १४ जना प्रहरी रिजर्भ फोर्सका लागि राखिने थापाले बताए ।

चारजना प्रहरी नायब उपरीक्षकको कमान्डमा रहने सो टोलीलाई जिल्लाको संवेदनशील र अन्य क्षेत्रमा राखिने उनले बताए । यस्तै, समितिले दङ्गाग्रस्त क्षेत्रको समेत पहिचान गरी सो क्षेत्रको अनुगमन समेत गरेको उनले बताए ।   रासस

प्रकाशित मिति : २० बैशाख २०७४, बुधबार ००:००