१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई दलद्वारा चार महानगरपालिकाका उम्मेदवार चयन



काठमाडौँ, नेपाली कांग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि मुलुकका चारै महानगरपालिकामा पार्टीका आधिकारिक उम्मेदवार चयन गरेको छ ।

दुई दिनदेखि जारी कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्य सहितको बैठकले मंगलबार सबै महानगरपालिकाका प्रमुख र उपप्रमुखमा उम्मेदवार चयन गरेको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।

पार्टीले काठमाडौँ महानगरपालिका प्रमुखमा राजुराज जोशी र उपप्रमुखमा हरिप्रभा खड्गी, पोखरा लेखनाथ महानगरपालिका प्रमुखमा रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङ, भरतपुर महानगरपालिका प्रमुखमा दिनेश कोइराला र उपप्रमुखमा पार्वती शाह तथा ललितपुर महानगरपालिका प्रमुखमा चिरिबाबु महर्जन र गीता सत्यालको टुङ्गो लगाएको उनले बताए ।

वैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं. ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा हुदैछ । त्यसका लागि निर्वाचन आयोगले मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको तालिका सार्वजनिक गरेको छ । पहिलो चरणको निर्वाचन हुने तीन प्रदेशमा चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका तथा एक सय ८६ गाउँपालिका छन् ।

माओवादी केन्द्रबाट उम्मेदवारी

नेकपा माओवादी केन्द्रले चार वटै महानगरपालिकाका उम्मेदवार चयन गरेको छ ।

जिल्ला समितिको सिफारिसमा मंगलबार बिहान सबै महानगरपालिकाका उम्मेदवार चयन गरिएको सो पार्टीले जनाएको छ । माओवादीले काठमाडौँका प्रमुखमा सर्वोत्तम डङ्गोल र उपप्रमुखमा सुशीला पौडेललाई उम्मेदवार बनाएको छ । डङ्गोल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा नगर समितिको इन्चार्ज समेत हुन् । उपप्रमुखका प्रत्याशी पौडेल केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य छन् ।

यस्तै ललितपुर महानगरपालिकामा दिनेश महर्जन प्रमुख र उपप्रमुखमा मञ्जरी शाक्यलाई उम्मेदवार बनाइएको छ । माओवादी केन्द्रका जिल्ला इन्चार्ज हरि दाहालका अनुसार जिल्लाका सबै स्थानीय तहको उम्मेदवार चयन गरिएको छ ।

ललितपुर महानगरका प्रमुखका उम्मेदवार महर्जन पार्टी ललितपुर नगर इन्चार्ज र केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन् । उपप्रमुखका उम्मेदवार शाक्य स्थानीय सामाजिक कार्यकर्ताका रुपमा क्रियाशील छन् ।

यस्तै भरतपुर महानगरका प्रमुखमा रेणु दाहाल तथा उपप्रमुखमा ईश्वर सापकोटालाई उठाइने भएको छ । प्रमुखका उम्मेदवार दाहाल माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा सापकोटा स्थानीय नेता हुन् ।

यस्तै क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो मानिएको पोखरा लेखनाथ महानगरपालिका प्रमुखमा माओवादी केन्द्रले विश्वप्रकाश लामिछानेलाई उम्मेदवार बनाएको छ । यस्तै उपप्रमुख उम्मेदवार गोमा ढकाललाई अगाडि सारिएको छ ।

पोखरा लेखनाथ महानगरका प्रमुखका प्रत्याशी लामिछाने पोखरा नगर विकास समितिका पूर्वअध्यक्ष हुन् । पोखराको परिचयका रुपमा रहेको फेवाताल संरक्षणको विशेष योजना तयार पारेका उनी माओवादी केन्द्रका नेता हुन् । यस्तै उपप्रमुखका उम्मेदवार ढकाल स्थानीय सामाजिक कार्यकर्ताका रुपमा क्रियाशील छन् । रासस

प्रकाशित मिति : १९ बैशाख २०७४, मंगलबार ००:००