१४ मंसिर २०८२, शनिबार | Sat Nov 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुरधाम उपमहानगरपालिकाले वृद्धि गरेको कर घटाउने



 

भदौ ३१, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले वृद्धि गरेका कर घटाउने सहमति भएको छ । नेपाली काङ्गे्रस नगर समिति, उद्योग वाणिज्य सङ्घ र उपहमहानगरपालिकाका पदाधिकारीबीच शनिबार भएको छलफलबाट सो सहमति भएको हो ।

उपमहानगरपालिकाद्वारा नयाँ शीर्षकमा सरसफाइ कर, पार्किङ शुल्क कर, सम्पत्ति र घर कर वृद्धि गरेको भन्दै नेपाली काङ्गे्रस नगर समिति भदौ ७ गतेदेखि आन्दोलन गर्दै आएको थियो । उपमहानगरपालिका र नेपाली काङ्गे्रस नगर समितिबीच भएको सहमतिअनुसार वृद्धि गरिएका करको अध्ययन गरी संशोधनको प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

नगर समितिका सभापति मनोज साहले उपमहानगरपालिकाको आर्थिक ऐन, २०७५ ले निर्धारण गरेका कर, गैरकर तथा सेवा शुल्कका दरमा संशोधन प्रयोजनका लागि यथाशीघ्र कार्य प्रक्रिया अघि बढाई कार्यान्वयन गर्ने दुवै पक्षबीच सहमति भएको बताए ।

छलफलमा नगरप्रमुख लालकिशोर साह, उपप्रमुख रीताकुमारी मिश्र, नेपाली काङ्गे्रसका पदाधिकारी र उद्योग वाणिज्य सङ्घका महासचिव जितेन्द्रकुमार महासेठको सहभागिता रहेको थियो ।
रासस

प्रकाशित मिति : ३१ भाद्र २०७५, आइतबार ००:००