५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुलसीपुर उपमहानगरमा फलफूल तथा तरकारी बजार केन्द्र निर्माण हुने



भदौ ६, दाङ । तुलसीपुर उपमहानगरपालिकाले आधुनिक तुलसीपुर तरकारी तथा फलफूल कृषि बजार केन्द्र निर्माण गर्ने भएको छ । बजार क्षेत्रभित्र रहेका अव्यवस्थित तरकारी तथा फलफूल लगायत कृषि उपज बजारलाई व्यवस्थित गर्नका लागि बजार केन्द्र निर्माण गर्न लागेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

एक करोड ८० लाखको लागतमा निर्माण हुनथालेको बजार केन्द्र तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको सेन्टर माविको १० कठ्ठा जमीनमा निर्माण गरिने नगर प्रमुख पाण्डेले जानकारी दिए । सो बजार केन्द्रको निर्माणका लागि यहाँका तरकारी तथा फलफूल व्यवसायीले ८० लाख र अन्य बाँकी रकम उपमहानगरपालिकाले लगानी गर्ने अधिकृत ललितबहादुर घर्तीले जानकारी दिए ।

बजार केन्द्रको स्थापना भएपछि सडक किनारमा कृषकले तरकारी बेच्ने क्रमको अन्त्य हुने अपेक्षा गरिएको छ । बजार केन्द्रमा कृषकले उत्पादन गरेको तरकारी बिक्री गर्नका लागि पनि ठाउँ राखिने छ । “व्यवसायीका लागि मात्रै भन्दा पनि कृषकका लागि पनि काम लागोस भन्ने सोचका साथमा हामीले केन्द्रको स्थापना गर्न थालेका हौ” नगरप्रमुख पाण्डेले भने ।

बजार केन्द्रको स्थापना हुने भएपछि अहिले तरकारी तथा फलफूल व्यापारीमा उत्साह छाएको छ । “तरकारी बजारको व्यवस्थापनका लागि बजार केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ” तरकारी व्यवसायी झुपलाल खड्काले भने ।

तुलसीपुरलाई स्मार्ट सिटी बनाउनका लागि बजार केन्द्र स्थापना अपरिहार्य रहेको भन्दै यसले तुलसीपुरको सुन्दरतालाई बढाउँदै लैजाने तुलसीपुर उपमहानगरपालिका ६ का वडाध्यक्ष नवराज लामिछानेले बताए ।

विद्यालयको जग्गा व्यवस्थापनसँगै तुलसीपुरमा रहेको तरकारी तथा फलफुल बजार व्यवस्थित गर्नका लागि विद्यालयले जग्गा २० वर्षका लागि भाडामा दिएको सेन्टर माविका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिए । उनले बजार केन्द्र वैज्ञानिक ढङ्गले निर्माण गरिने भएकाले विद्यालयलाई कुनै पनि प्रभाव नपर्ने पनि बताए ।
रासस

प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार ००:००