८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन गराउन नागरिक समाजले दबाब दिनुपर्नेमा जोड



पाल्पा, बीस वर्षदेखि स्थानीय निर्वाचन हुन नसक्दा नागरिकका समस्या बर्सेनि बढेकाले स्थानीय तहको निर्वाचन सार्ने र टार्ने काम रोकेर देशलाई निर्वाचनमय बनाउन सबै क्षेत्रबाट अग्रसरता देखाउनुपर्नेमा जोड दिइएको छ ।

पाल्पा विकास केन्द्रको आयोजना र सामाजिक संवादका लागि सहकार्यको सहयोगमा तानसेनमा शनिबार ‘स्थानीय तहको निर्वाचनमा नागरिक समाजको भूमिका’ विषयक संवाद कार्यक्रममा निर्वाचन छिटो छरितो रुपमा गर्नुपर्ने बताइएको हो ।

कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य वसन्त शर्मा (कुशल)ले नागरिक समाजले स्थानीय तहको अधिकार र कर्तव्यका बारेमा मतदातालार्इ बुझाउन सकेको अवस्थामा निर्वाचनको महत्व नागरिक तहमा अझ बढ्ने बताए ।

नेकपा एमालेका केन्द्रीय लेखा विभाग सदस्य धनेन्द्रराज घिमिरेले स्थानीय तहको निर्वाचन दुई चरणमा भए पनि तोकिएकै मितिमा सम्पन्न भएमा नागरिकका अधिकार सुनिश्चित हुने विचार व्यक्त गरे । रापप्राका जिल्ला अध्यक्ष डुवबहादुर कुँवरले सबै दल मिलेर स्थानीय निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिए ।

नागरिक समाज पाल्पाका सचिव भेषराज सुवेदीले लामो समय स्थानीय निकाय जनप्रतिनिधि विहीनको अवस्थाबाट गुज्रिरहेकाले स्थानीय निर्वाचनको विकल्प नै नभएको बताए । नेपाल नागरिक समाज, पाल्पाका पुष्कर रेग्मीले मतदाता शिक्षालाई निरन्तरता दिई मतदातालाई सचेत बनाउन सहयोग पुग्ने र सरकारलाई निर्वाचन गराउन दबाब दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री गंगा पौडेल, लालु राना, सुनिता शर्मा, कानुन व्यवसायी नारायण बस्याल, गीता शर्माले सरकारले निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनतर्फ लाग्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा स्थानीय तहको निर्वाचनमा नागरिक समाजको भूमिका विषयक कार्यपत्र पत्रकार तिलक पाठकले प्रस्तुत गरेका थिए । स्थानीय निर्वाचन निर्धारित समयमा नै सम्पन्न गर्न नागरिक तहबाट दबाब सिर्जना गर्नुपर्ने केन्द्रका अध्यक्ष कृष्ण पोखरेलले बताए । रासस

प्रकाशित मिति : १७ बैशाख २०७४, आइतबार ००:००