२२ भाद्र २०८१, शनिबार | Sat Sep 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाग्लुङमा निर्वाचन तयारी तीव्र



बागलुङ, स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय व्यवस्थापकीय काममा जुटेको छ । गाउँ गाउँमा मतदाता शिक्षा दिन स्वयंसेवक खटिएका छन् । नब्बे प्रतिशत निर्वाचन सामग्री आइसकेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिए । “मतदान स्थलमा पठाउने सामग्री तयारी हालतमा राखेका छौँ”, शर्माले भने ।

उनका अनुसार मतपेटिका, मतपत्र, नउड्ने मसीलगायत केही सामग्री मात्र आउन बाँकी छ । सुरक्षा प्रबन्ध र जनशक्ति व्यस्थापनको काम पनि अघि बढेको जनाइएको छ । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका एक सय ३ मतदानस्थलमा एक हजार सात सय ४६ जनशक्ति खटिने छन् । अपुग जनशक्ति स्थायी शिक्षकबाट पूर्ति गरिने अधिकारी शर्माले जानकारी दिए ।

निर्वाचनमा माध्यमिक तहका एक सय ७५, आधारभूत तहबाट दुई सय ११ र प्राथमिक तहका नौ सय ५२ शिक्षक खटिने छन् । बाँकी अधिकृतस्तरका कर्मचारी एक सय ४०, सहायकस्तरका पाँच सय ८९, सहयोगी एक सय ८१ र स्वयम्सेवक पाँच सय ७५ हुनेछन् ।

जनशक्ति परिचालन देखि निर्वाचन सञ्चालनको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्नेछ । जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन् ।

कार्यालयमा चाहिने कर्मचारी व्यवस्थापन भइसकेको मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासले जानकारी दिए । निर्वाचनसम्बन्धी कामकारबाही कार्यालय मार्फत सञ्चालन हुने उनको भनाइ छ । मुख्य निर्वाचन अधिकृत बेल्बासेलाई बागलुङ नगरपालिकाको निर्वाचन अधिकृतको समेत जिम्मा दिइएको छ ।

यस्तै नगरपालिकाहरु जैमिनीमा विष्णुप्रसाद सुवेदी, ढोरपाटनमा केदारनाथ पौडेल र गलकोटमा धर्मराज पौडेल तथा गाउँपालिकाहरु ताराखोलामा देवीप्रसाद सुवेदी र काठेखोलामा ध्रुव गिरीलाई निर्वाचन अधिकृतका रुपमा खटाइएको छ । वरेङमा राजेन्द्रप्रसाद घिमिरे, बडीगाडमा रामचन्द्र शर्मा, निसीखोलामा विष्णुभक्त रञ्जित र तमानखोला गाउँपालिकामा सुवासकुमार लामिछानेलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।

एक सय ३ मतदानस्थल रहेको बागलुङमा एक सय ९२ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा एक लाख ५६ हजार आठ सय दुई मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ती मध्ये महिला मतदाताको संख्या ८२ हजार आठ सय ३९ छ ।

निर्वाचनमा भाग लिने राजनीतिक दलहरु पनि आफ्नो तयारीमा व्यस्त छन् । निर्वाचन प्रचारप्रसार संगै उम्मेदवार छनोटको कसरतमा दलहरु छन् । निर्वाचनको मिति आउन दुई साता मात्र बाँकी रहँदा जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई पनि चुस्त पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : १६ बैशाख २०७४, शनिबार ००:००