२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवल उपमहानगरपालिकाले घरको नक्शा डिजाइन सेवा प्रदान गर्ने



 

भरत के.सी.
साउन २९, बुटवल ।

तपाईं बुटवलमा घर बनाउँदै हुनुहुन्छ ? घर बनाउन नक्शा डिजाइनका लागि प्रविधिज्ञको खोजीमा हुनुहुन्छ ? अब यसका लागि कुनै झण्झट नउठाउनुस् । तपाईंलाई यसको सेवा बुटवल उपमहानगरपालिकाले आफैँ प्रदान गर्ने भएको छ ।

बुटवल उपमहानगरपालिकाले नगरभित्र घर बनाउने नगरवासीलाई घर निर्माणका लागि चाहिने नक्शा न्यूनतम शुल्क लिएर आफैं बनाइदिने कार्यक्रम अघि सारेपछि नगरवासीलाई सुविधा पुग्ने भएको हो । अब नगरवासीलाई नक्शाको कामका लागि अनावश्यक रकम खर्चिनुपर्ने र भरपर्दो प्रविधिक खोज्नुपर्ने झण्झट हुने छैन ।

बुटवल उपमहानगरको आर्थिक वर्ष २०७५÷७६ को नगर कार्यपालिकाले नगरभित्र निर्माण गरिने भुइँतलामा एक हजार वर्गफिट क्षेत्रफल ओगटेका घरका लागि तीन तलासम्मको नक्शा न्यूनतम शुल्क लिएर तोकेको प्रविधिज्ञले बनाइदिने निर्णय गरेको हो ।

यस किसिमको सेवा प्रदान गरेपछि तोकिएको मापदण्ड अनुसार घर बन्ने आशा उपमहानगरपालिकाले राखेको छ । यस्तो कदमले नगरपालिकामा नक्शा स्वीकृति दिँदा कुनै समस्या नआउने बुटवल उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनीयर सुमन श्रेष्ठ बताउछन् ।

बुटवल उपमहानगरपालिकाले अगाडि सारेको यो कार्यक्रम मुताविक आजदेखि सेवा लिन चाहने नगरवासीका लागि सार्वजनिक आह्वान गरिएको छ । नगरपालिकाले नक्शा डिजाइन बापत भुइँ तलाका लागि ५ हजार र सो भन्दा माथि थप ३ हजार शुल्क तोकेको छ । नक्शा डिजाइनका लागि निजी प्रविधिज्ञले नगरपालिकाले तोकेको भन्दा तीन गुणा बढी शुल्क लिने गरेका छन् ।

उपमहानगरपालिकाले सार्वजनिक सूचनामार्फत नगरका जनतालाई सुविधा दिन एमआरटि परिधिभित्र रहेका घरको नक्शा डिजाइन गरी पेश गर्ने तथा घरको प्राविधिक निरीक्षण सम्मका सम्पूर्ण कामहरु उपमहानगरपालिका आफैंले गरिदिने गरी डेस्क सञ्चालन भएकाले सर्वसुलभ र गुणस्तरीय सेवा लिन इच्छुक नगरवासीलाई आह्वान गरेको छ ।

सेवाग्राहीले नक्शाको कामका लागि ब्यहोर्नु परेको झण्झट र अन्योलको अन्त्य गर्न यस खालको कार्यक्रम शुरु गरिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी बताउछन् । उनले उपमहानगरपालिकाले अगाडि सारेको यो कार्यक्रमबाट जनताले घरको नक्शा डिजाइनका लागि सर्वसुलभ तथा गुणस्तरीय सेवा समयभित्रै पाउने दावी गरे ।

उपमहानगरपालिकाले प्राविधिक जनशक्ति करारमा राखेर सेवा प्रदान गर्ने भएकाले नगरवासीले घर नक्शा बनाउन ब्यहोर्नु परेको एकाधिकार तोडिने समेत नगर प्रवक्ता रेग्मी बताउछन् ।

बुटवल उपमहानगरपालिकामा पछिल्लो समयमा घर निर्माणको काम निक्कै बढ्दो छ । नगरभित्र वार्षिक रुपमा झण्डै १ हजार ५०० भन्दा बढी घर निर्माण हुने गरेको तथ्याँक छ । उपमहानगरपालिकाले अगाडि सारेको यो योजनाले नगरभित्र घर निर्माण गर्ने अधिकांश नगरवासी लाभान्वित हुने उनी बताउछन् ।

बुटवल उपमहानगरपालिकाको यस किसिमको कार्यक्रमले नगर क्षेत्रमा निर्माण हुने घरको गुणस्तरीयता मापनमा एकरुपता आउने र जनतालाई घर नक्शा निर्माणदेखि घर निर्माणसम्मको सम्पूर्ण प्रक्रिया नै सस्तो हुने योजनाविद् तथा प्रदेश ५ प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा प्रकाश कुमार श्रेष्ठ बताउछन् ।

घर नक्शा निर्माणदेखि स्वीकृत गर्नेसम्मका प्रक्रियामा कार्यालयले समेत सेवाग्राहीको एउटै कामका लागि पटक पटक मूल्याँकन गर्नुपर्ने परिपाटीको अन्त्य हुने भएकाले यो कार्यक्रम प्रभावकारी हुने उनको विश्लेषण छ ।

नगरपालिकाले सार्वजनिक गरेको सूचना मुताविक सेवाग्राहीले घर नक्शा निर्माणका लागि जग्गाधनी पुर्जा, राजीनामा, चालु आर्थिक वर्षको सम्पत्ति कर तिरेको रसिद, नेपाली नागरिकताको प्रतिलिपी, नापी नक्शा, फाइल नक्शा, घर धनीको फोटो र चारकिल्ला विवरण लगायतका कागजात सहित आवेदन गर्नुपर्ने छ ।
रासस

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलबार ००:००