साउन २७, बागलुङ । झरीको पर्वाह नगरी ताराखोला गाउँपालिकाका जनप्रतिनिधि शनिबार कोदालो, बेल्चा र डोको बोकेर सडक मर्मतमा निस्किए । जनप्रतिनिधिलाई कर्मचारी, शिक्षक, गाउँका अगुवा र सर्वसाधारणले साथ दिए ।
महिनामा एक दिन श्रमदान गर्नुपर्ने गाउँसभाको नीति कार्यान्वयन गर्न गाउँपालिका अध्यक्षदेखि स्थानीयवासी श्रममा खटिएका हुन् ।
गाउँपालिका केन्द्रदेखि वडा नंं दुईको कमेरे डाँडासम्मको करीब चार किमी सडक मर्मतसुधार गरिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । शहीद मार्गमा पर्ने उक्त सडकमा सम्याउने, नाली काट्ने, खाल्डाखुल्डी पुर्ने लगायका काम गरिएको छ ।
“दिनभर एक सय जनाभन्दा बढी श्रममा खटिनुभयो,’ अध्यक्ष घर्तीले भने, “विकास, निर्माणको काममा जनसहभागिता जुटाउन श्रमदानको नीति ल्याएका हौँ ।” सडक मर्मतमा मजुदुर र उपकरण प्रयोग गर्दा हुने खर्च समेत जोगिएको उनको भनाइ छ ।
वर्षायाममा बिग्रेको सडक मर्मतपछि सवारीसाधन सञ्चालनमा आएका छन् । श्रमदानमा जनप्रतिनिधि, कर्मचारी र शिक्षकले अगुवाइ गरेपछि सर्वसाधारण उत्साहित भएका छन् ।
विकासका काममा जनसहभागिता जुटाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुषालले बताए । “आवश्यकता किटान गरी योजनाबद्ध रुपमा श्रमदान जुटाउँछौं,” उनले भने ।
गाउँपालिकाले चालू आव २०७५÷७६ को नीति तथा कार्यक्रममा महिनामा एक दिन विकास कार्यमा जनप्रतिनिधि र कर्मचारीको अगुवाइमा जनसहभागिता जुटाइने उल्लेख छ । अबदेखि वडागत रुपमा श्रमदान जुटाइने भएको छ । विकास निर्माणका काममा गाउँले खटिने गरेका छन् ।
दिगो विकासमा जनसहभागिता महत्वपूर्ण हुने हुँदा नीतिगत रुपमै श्रमदान गर्नुपर्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष घर्ती बताउछन् ।
रासस



प्रतिक्रिया