१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेका दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पठाइँदै



बनेपा, स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पठाउन थालिएको छ ।

सात गाउँपालिका र आठ नगरपालिका रहेको जिल्लाका अधिकांश गाउँपालिका र नगरपालिकाको निर्वाचन कार्यालयमा निर्वाचन सामग्री पठाइएको तथा केही गाउँपालिका र नगरपालिकामा शुक्रबार पठाउन लागिएको जिल्ला निर्वाचन कार्यालय, धुलिखेलले जनाएको छ ।

नमोबुद्ध नगरपालिका, बनेपा नगरपालिका र बेथानचोक गाउँपालिकामा शुक्रबार निर्वाचन सामग्री पठाउन लागिएको जिल्ला निर्वाचन अधिकारी, मधुकरप्रसाद पोखरेलले जानकारी दिए ।

उनका अनुसार निर्वाचन मनोनयनका लागि आवश्यक पर्ने मनोनयनपत्र, मतदाता नामावली, अनुसूची फारम लगायतका निर्वाचन सामग्री कोसीपारिको दुर्गम क्षेत्र चौरी देउराली गाउँपालिका, महाभारत शृङ्खला डाँडापारिको महाभारत गाउँपालिकमा समेत पुगिसकेको छ ।

त्यस्तै मतदाता शिक्षाका लागि पनि आवश्यक पर्ने विभिन्न सामग्री पनि गाउँगाउँ पुगेका छन् ।

जिल्लामा ३३० निर्वाचन शिक्षकमार्फत पाँच किसिमका विभिन्न पर्चा, नमुना मतपत्र, हाते पुस्तिका, प्रश्नोत्तर भएको पुस्तिकासमेत विभिन्न गाउँपालिका र नगरपालिकामा पुगेको निर्वाचन अधिकारी पोखरेलले बताए । उनले तामाङ र नेवार समुदायलाई लक्षित गरेर नेवारी र तामाङ भाषाका पम्प्लेट समेत काभ्रेपलाञ्चोकमा वितरण हुने जानकारी दिए ।

जिल्लाको बेथानचोक र तेमाल गाउँपालिकामा नेवारी र तामाङ भाषाका पम्प्लेट वितरण हुने छन । ती पम्प्लेट करिब १५० प्रति भएको बताइएको छ ।

निर्वाचन अधिकारी पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट स्थानीय तह निर्वाचनका लागि कर्मचारीको नियुक्ति पनि बुधबारबाट मात्रै सुरु भएको बताए । निर्वाचन आयोगले स्थानीय तहका लागि वैशाख ३१ गते पहिलो चरणको निर्वाचन गर्दै छ । रासस

प्रकाशित मिति : १५ बैशाख २०७४, शुक्रबार ००:००