१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय चुनावमा आधा दर्जन पत्रकार आकांक्षी



लमजुङ (बेसीसहर), स्थानीय तहको निर्वाचन नजिकिएसंगै लमजुङका क्रियाशील पत्रकार पनि आकांक्षी देखिएका छन् । लमजुङका स्थानीय तहमध्ये वडा, गाउँपालिका र नगरपालिका प्रमुखका लागि पत्रकार आकांक्षी देखिएका हुन् ।

प्रेस युनियनका पूर्व गण्डकी अञ्चल संयोजक एवं लमजुङ आवाज साप्ताहिक पत्रिकाका प्रधान सम्पादक मिलन शर्मा दनाईंले बेसीसहर नगरपालिका अन्तर्गत वडा नं ८ बाट अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

नेपाल प्रेस युनियनका अध्यक्ष एवं नेपाल टेलिभिजनका लमजुङ प्रतिनिधि परमेश्वर अधिकारीले नेपाली कांग्रेसबाट सुन्दरबजार नगरपालिकाको मेयर पदको उम्मेदवारमा आकांक्षा देखाएका छन् । उनले पार्टीमा आन्तरिक उम्मेदवारीसमेत दिएका छन् ।

यस्तै, प्रेस युनियनका अर्का सदस्य एवं अन्नपूर्ण पोष्ट दैनिकका लमजुङ समाचारदाता दीपक अधिकारीले दोर्दी गाउँपालिका–१ को वडा सदस्यमा टिकट पाइसकेका छन् । अधिकारीले वडा सदस्य जितेर जिल्ला समन्वय समितिमा आउने दाबी गरेका छन् ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सन्तोष पौडेलले दोर्दी गाउँपालिकाको प्रमुख पदको उम्मेदवारमा आकांक्षा देखाएका छन् । पौडेल हाल जिल्लास्थित रेडियो भोटेओडारको निर्देशक र मूलखबर अनलाइनमा आबद्ध छन् ।

प्रेस सेन्टरका जिल्ला अध्यक्ष रुद्रहरि ढकालले पनि स्थानीय तह निर्वाचनमा सुन्दरबजार नगरपालिका–८ को वडाध्यक्ष पदको उम्मेदवारका लागि पार्टीमा निवेदन दिएका छन् । उनी पनि जिल्लास्थित रेडियो भोटेओडारको व्यवस्थापक हुन् ।

परिवर्तन सन्देश पत्रिकाका सम्पादक नारायण पौडेलले राइनास नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनले नयाँ शक्ति पार्टीबाट उम्मेदवारी दिने तयारी गरेका हुन् । सोही पत्रिकाका कार्यकारी सम्पादक एवम् प्रेस सोसाइटी लमजुङका जिल्ला अध्यक्ष वासुदेव थापाले मर्स्याङदी गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

यस्तै, पत्रकार महासङ्घ लमजुङका पूर्वअध्यक्ष एवं ‘लमजुङ दर्पण’ दैनिकका सम्पादक कृष्ण केसीले नेकपा (एमाले)बाट बेसीसहर नगरापालिकाको प्रमुख पदका लागि आकांक्षा देखाएको तर उनले पार्टीमा आन्तरिक उम्मेदवारी दिए पनि पछि फिर्ता लिएका थिए ।

सवैले आन्तरिक पार्टीमा आकांक्षा व्यक्त गर्दै उम्मेदवारी दिए पनि उम्मेदवारको टुंगो भने कसैको लागेको छैन । पार्टीमा आकांक्षी धेरै भएपछि दललाई उम्मेदवार चुन्न सकस भएको छ । रासस

प्रकाशित मिति : १५ बैशाख २०७४, शुक्रबार ००:००