साउन १७, नुवाकोट । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ । बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको दरमा कटौती गरेको हो ।
सम्पत्तिको मूल्यांकन बढेकाले करको दरमा वृद्धि हुन आएकाले दरलाई समायोजन गरी स्थानीय राजपत्रमा प्रकाशित गरिएको विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले बताइन् ।
विसं २०७१ मा तत्कालीन नगरपरिषद्ले पारित गरेको एकीकृत सम्पत्ति करको दरलाई अहिले कार्यान्वयन गर्ने तयारी गरेपछि कर फिर्ताको माग गर्दैै विरोध भएको थियो । नगरक्षेत्रको सम्पत्तिको मूल्यांकन वृद्धि भएकाले पुरानो करको दरलाई संशोधन गरी घटाएको पण्डितले बताइन् ।
सम्पत्तिको मूल्यांकन घटाउँदा नागरिकले पाउने सुविधामा प्रभाव पर्ने भन्दै सम्पत्तिको मूल्यांकन पहिलेकै कायम गरी तिर्नुपर्ने करको दरमा परिवर्तन गरिएको विदुर नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले बताए ।
यसअघि २०० देखि ५० हजारसम्म एकीकृत सम्पत्ति कर नगरपालिकालाई बुझाउनु पर्ने दर राखिएको थियो । परिवर्तित दरअनुसार अब २०० देखि १५ हजारसम्म मात्र कायम गरिएको छ । सबैभन्दा कम एक लाख देखि पाँच लाखसम्म सम्पत्तिको मूल्यांकन भएका नागरिकले वार्षिक २०० कर तिर्नुपर्छ भने सबैभन्दा बढी चार करोडदेखि पाँच करोडसम्म सम्पत्तिको मूल्यांकन भएकाले १५ हजार कर तिर्नुपर्ने छ ।
यस्तै पाँच करोडभन्दा माथि सम्पत्ति मूल्यांकन भएकाको हकमा प्रतिहजारमा ५० पैसा कर कायम गरिएको रिमालले बताए । एकीकृत सम्पत्ति करमाफर्त सबै नगरवासीलाई करको दायरामा समेट्न पहिलेको दरलाई समायोजन गरिएको हो । चालू आवदेखि लागू हुने करमा एकीकृत सम्पत्ति करसहित, ढुंगा, गिट्टी बालुवा, माटोलगायत कर पनि समेटिएको छ ।
विदुर नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐनमा होटेल, घर निर्माण, नक्सापास लगायत विविध कर समेटिएको छ ।
रासस

प्रतिक्रिया