५ बैशाख २०८१, बुधबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोह्र दलले चुनाव चिन्ह पाए



दाङ, आगामी स्थानीय तहको निर्वाचनका लागि यहाँ दर्ता भएका २७ दलमध्ये १६ दलले चुनाव चिह्न पाएका छन् ।

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा पठाएको विवरणमा जिल्लामा दर्ता भएका २७ मध्ये १६ दलले मात्रै चुनाव चिह्न पाएका हुन् । चुनाव चिह्न पाउने दलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, सङ्घीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहट र सद्भावना पार्टी रहेका छन् ।

नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय मधेस समाजवादी पार्टी, जनजागरण पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, तराई मधेस सद्भावना पार्टी र थरूहट तराई पार्टी नेपालले चुनाव चिन्ह पाएको निर्वाचन कार्यालय दाङका प्रमुख विजयकुमार कार्कीले जानकारी दिएका छन् । अन्य दलले चुनाव चिन्ह नपाए पनि आयोगले स्वतन्त्र रुपमा लड्न पाउने र सोही अनुसारको चुनाव चिन्ह दिने व्यवस्था गरेको छ ।

त्यसैगरी, सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेपछि दाङमा निर्वाचनका कार्यक्रम २४ दिनका लागि स्थगित गरिएको छ । दाङ ५ नं. प्रदेश मा पर्ने र यहाँ जेठ ३१ मा निर्वाचन हुने भएकाले हाललाई निर्वाचनको कार्यक्रम स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

यसअघि वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने भनिएकोले त्यही अनुरुपको तयारी थियो । दुई चरणमा निर्वाचन गर्ने दलीय सहमति अनुसार प्रदेश नं ५ मा दोस्रो चरणमा निर्वाचन हुने भएपछि निर्वाचन आयोगको निर्देशन अनुसार निर्वाचनका कार्यक्रम स्थगन भएको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख कार्कीले जानकारी दिए । रासस

प्रकाशित मिति : १४ बैशाख २०७४, बिहिबार ००:००