१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दलित प्रमुख पदको उम्मेदवारबाट वञ्चित



कालीकोट, जिल्लामा कुनै पनि राजनीतिक दलले नगर तथा गाउँपालिकाको प्रमुख पदमा उम्मेदवार नदिएपछि कालीकोटका दलित संघर्षमा उत्रिने भएका छन् ।

नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र लगायत राजनीतिक दलमा चर्चामा रहेका उम्मेदवारका आकांक्षीलाई समेत नसमेटेर गैर दलित नै पहिलो प्राथमिकतामा परेका छन् ।

जिल्लामा रहेका सबै राजनीतिक दलका दलित भ्रातृ संगठनको समन्वयमा संघर्ष गर्ने माओवादी केन्द्र कालीकोटका जिल्ला सदस्य देउसिंह विकले बताएका छन् ।उनका अनुसार आफूहरुले विभिन्न दलका दलित संगठन संग समन्वय गरेर बैठक बोलाउने तयारी भएको बताउँदै पहिलो चरणमा सबै दललाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाउने र प्रत्येक दलले कम्तीमा एक गाउँ वा नगरपालिकामा उम्मेदवार बनाउनका लागि दबाब दिने योजना रहेको बताएका छन् ।

सबै दलले सकारात्मक रुपमा लिएर केही परिवर्तन गरेमा संघर्ष नहुने, बेवास्ता गरेमा पुनः आन्दोलन अघि बढ्ने उनले बताए । अन्य दलभन्दा पनि कम्तीमा दुई जना दलित माओवादी केन्द्रले गाउँपालिकामा दिने विश्वासमा रहेको भएपनि बेवास्ता गरेपछि माओवादी केन्द्र समर्थक दलितको अगुवाइमा ध्यानाकर्षण पत्र बुझाउन लागिएको बताइएको छ ।

माओवादी केन्द्रले तिलागुफा नगरपालिका र पलांता गाउँपालिकामा दलित उम्मेदवार बनाउने व्यापक रस्सा कस्सी भएपनि अन्ततः नरहरिनाथ गाउँपालिकामा विष्णु विकको स्थानमा अग्रबहादुर विष्ट, पलांता गाउँपालिकामा अनन्त विकको स्थानमा लक्ष्मण बमलाई सिफारिस गरेको छ भने तिलागुफामा दिनेश चन्दाराको स्थानमा रतनबहादुर शाहीलाई सिफारिस गरेपछि दलित संघर्ष गर्न बाध्य भएका हुन् ।

समाजसेवी नागरिक अगुवा कटक महतका अनुसार जिल्लामा ४० प्रतिशत जनसंख्या रहेको अवस्थामा पनि दलित उम्मेदवार नदिनु दुःखद भएको बताएका छन् । अन्य दलमा प्राथमिकतामा नपरे पनि माओवादी केन्द्रको आशा रहेको तर त्यो सम्भव नहुनु वर्गीय दृष्टिभन्दा फरक भएको बताएका छन् ।

नेपाली कांग्रेसले नगर तथा गाउँपालिकाको उम्मेदवारको टुंगो लगाउँदैछ भने नेकपा (एमाले)ले भने उम्मेदवारको टुंगो अन्तिम चरणमा पुगेको बताएको छ ।

अहिलेसम्म नापजाँच गर्दा नेपाली कांग्रेस र नेकपा (एमाले)मा दलित उम्मेदवार सम्भव नदेखिएको बताइएको छ । कानुनले प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य गरेका कारण सबै नगर तथा गाउँपालिकामा उपप्रमुखमा भने महिला छनोट गरेका छन् । रासस

प्रकाशित मिति : १३ बैशाख २०७४, बुधबार ००:००