२ साउन, दमक । झापाको दमक नगरपालिकामा सञ्चालित अधिकांश योजना समयमै सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
दमक नगरपालिकामा जनप्रतिनिधि आएको गतवर्षको कार्यसम्पादनका अनुसार नगरमा सञ्चालित विभिन्न विकासे योजनाका ८० प्रतिशत काम पूरा भएको जनाइएको छ ।
नगरपालिकाको भौतिक निर्माण प्राविधिक शाखाका अनुसार गत वर्ष ३२८ वटा सञ्चालित योजनामध्ये ८० प्रतिशत हाराहारीमा मात्र काम सकिएको सो शाखाका प्रमुख इञ्जिनियर तीर्थनारायण श्रेष्ठले बताए ।
उनका अनुसार नगरक्षेत्रमा स्थानीय तहको २७ करोड ७३ लाख ३ हजार ५८ बजेटमा कल्भर्ट २४ वटा, ग्राभेल सडक १०३, भवन तथा शौचालय निर्माण तथा मर्मत ५५, ढल २४, सिँचाइ चार, ग्राभेलसहित ढल नौ, ढलसहितको कालपत्रे सडक २५ र ढलसहित लकिङ योजना आठ गरी ३२८ वटा योजना सञ्चालनमा रहेका थिए ।
तीमध्ये गएको आवसम्ममा १३६ वटा योजना मात्र पूर्णरुपमा सम्पन्न भएको नगरपालिकाको भौतिक निर्माण प्राविधिक शाखाले जनाएको छ ।
यसबाहेक दमक नगरपालिकामा केन्द्रीय बजेटमा करीब डेढ अर्ब हाराहारीको लगानीमा ५ वटा पुल रतुवा र मावा खोलामा निर्माण कार्य भइरहेको छ । यस्तै, पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय मातहतबाट २२ करोडको बजेटमा विभिन्न चारवटा सडक निर्माण कार्यसमेत सञ्चालन भइरहेको डिभिजन सडक कार्यालय, दमकले जानकारी दिएको छ ।
रासस


प्रतिक्रिया