मनोज दाहाल
३० असार, विराटनगर ।
विराटनगर महानगरपालिकाले ३७ लाखको लागतमा वीरेन्द्र सभागृह मर्मत र महानगरपालिकाको सभाहल निर्माण कार्य सम्पन्न गरेको छ । महानगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा विगत एक वर्षको अवधिमा गरेका कार्य सम्बन्धमा सो जानकारी दिइएको हो ।
महानगरका प्रमुख भीम पराजुलीले सभागृह छेउमा रहेको इको पार्कको निर्माणकार्य सम्पन्न भई आगामी केही दिनभित्र उद्घाटन गरिने बताए । महानगरपालिकाले ‘छोरी बचाऊ’ अभियान अन्तर्गत आमालाई तीन हजार प्रदान गरिरहेकामा अब ‘छोरी पढाऊ’ अन्तर्गत छोरीलाई उच्च शिक्षा प्राप्त होस् भनी एकमुष्ट रकमको अक्षयकोष स्थापना गरिने भएको छ ।
एक वर्षको निर्माणसम्बन्धी जानकारी दिने क्रममा प्रमुख पराजुलीले महानगरपालिका वडा नं ५ मा उचित व्यवस्थापन सहित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा नं १५ र १९ मा १५ शय्ययाका स्वास्थ्य सञ्चालनमा ल्याएको बताए ।
यस्तै मझौला एकीकृत शहरी वातावरणीय सुधार परियोजना अन्तर्गत ३४.६४ किलोमिटर, ठूला नाला (१०० प्रतिशत), सडक छेउको नाला ३५.७२ किलोमिटर (९९.०९ प्रतिशत), ढल ४३.६४ किलोमिटर (९९.९३ प्रतिशत) निर्माण कार्य सम्पन्न भएको बताइएको छ ।
यसैगरी सोही परियोजना अन्तर्गत ग्राभेल सडक ३६ दशमलव ७९ किलोमिटर र पक्की सडक ३ दशमलव ५ किलोमिटर गरी (९०.२६ प्रतिशत) निर्माण कार्य सम्पन्न गरेको छ । विराटनगर भएर बग्ने फोहर पानीको नाला अन्तर्गत फोहर पानी शुद्ध गरी सिँघिया खोलामा खसाउने फोहर पानी प्रशोधन केन्द्रको ९१.१५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जानकारी गराइयो ।
यसैगरी ठूलो नाला ३५० मिटर (८१.१८ प्रतिशत), सडक छेउ नाला १४ दशमलव किलोमिटर (५५.९० प्रतिशत), ढल ८ दशमलव ०२ किलोमिटर (३९.९५ प्रतिशत) कार्य सम्पन्न भएको छ । यस्तै पिच सडक १३.८२ किलोमिटर (१८.९१ प्रतिशत) निर्माण कार्यमा सम्पन्न भएको बताइएको छ ।
यसैगरी सघन शहरी विकास कार्यक्रम अन्तर्गत सडक छेउ नाला २३.८ किलोमिटर (९८ प्रतिशत), पिच सडक ९ किलोमिटर (६० प्रतिशत) निर्माण कार्य सम्पन्न भएको छ । यस्तै विराटनगर–११ मा निर्माणाधीन बसपार्कको निर्माणकार्य ९५ प्रतिशत पूरा भएको छ भने विराटनगर वडा नं ४ मा निर्माणाधीन तारणीप्रसाद कोइराला सञ्चार ग्राम २२ प्रतिशत निर्माणकार्य सम्पन्न सम्पन्न भएको जानकारी दिएको छ ।
भारतीय दूतावासको सहयोगमा निर्मित गुरुकुल नाटकघरको भौतिक निर्माण प्रगति ३० प्रतिशत भएको प्रमुख पराजुलीले बताए । महानगरपालिकाले नगर क्षेत्रलाई डुबानबाट मुक्त गर्न ठूला नाला, पैनी, कच्चीनाला खन्ने र सफा गराउने कार्यलाई तीव्रता दिएको छ भने छ लेन सडक (राजमार्ग) निर्माण परियोजनामा डुबान समस्या कम गर्न विभिन्न स्थानमा क्रसिङ नाला निर्माण गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।
महानगरले वडा नं १ बालमैत्री अध्ययन/सूचना केन्द्र स्थापना गर्नाका साथै फोहरमैला व्यवस्थापन तथा वातावरण प्रवर्द्धनका लागि मुख्य सडक, व्यापारिक, घर क्षेत्रमा ठूलो साइजको डस्टबिनको व्यवस्थापन गरिएको छ ।
यसैगरी महानगरपालिका कर संकलन वृद्धिका लागि कर शुल्क सेवा शुल्क लगायतका सबै कर प्रणालीलाई आगामी साउन १ गतेदेखि वडाबाट सेवा प्रदान गर्ने गरी वडा कार्यालयमा व्यवस्थितरुपमा कम्प्युटरकृत, आवश्यक कागजसहित कर्मचारीलाई तालीम प्रदान गरेको जनाएको छ । महानगरपालिकाले डेङ्गु र मलेरिया जस्ता रोगबाट नगरवासीलाई बचावटका लागि महानगरपालिकाभित्र लामखुट्टे मार्ने औषधि स्प्रे गर्ने गरेको छ ।
महानगरको सुन्दरताका लागि शहीद मार्गबाट शास्त्रीमार्ग हुँदै घेघाहापैनी ९शनिहाट० सिंगियासम्म बहुउद्देश्य पार्क निर्माणकार्य प्रारम्भ गरेको छ भने ऐतिहासिक विराट राजा दरबार क्षेत्रका लागि डिपिआर तथा निर्माणकार्य लागि संयोजकको चयन समेत गरेको छ ।
सामुदायिक विद्यालयलाई स्तरोनतिका लागि नगर क्षेत्रका पाँच वटा विद्यालयको आवश्यक सहयोग प्रदान गरिएको छ । महानगरपालिकाले नेपाल पत्रकार महासंघ प्रदेश नं १ र शिरोमणि पुस्तकालयलाई भवन निर्माणका लागि जग्गा प्रदान गरेको छ ।
प्रमुख पराजुलीले आफूले विगत एक वर्षमा महानगरपालिकाबाट पाएको सुविधाको रकम सामुदायिक विद्यालयलाई सहयोग गरेको बताए ।
रासस


प्रतिक्रिया