२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धौलागिरि गाउँपालिकाद्वारा सञ्चालित अधिकांश याेजना सम्पन्न



 

सन्तोष गौतम
२४ असार, बाबियाचौर– म्याग्दी ।

धौलागिरि गाउँपालिकाले चालू आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन गरेका अधिकांश योजना सम्पन्न भएका छन् । पूर्वाधारतर्फका ११०, लक्षितवर्गका ११ र रकमान्तर गरिएका १९ गरी १४० वटा योजना तथा कार्यक्रमका लागि ११ करोड ३८ लाख ८४ हजार विनियोजन भएको थियो ।

एक सय २५ वटा योजना तथा कार्यक्रम सम्पन्न भइ अन्तिम भुक्तानी पनि दिइएको र बाँकी योजना पनि भुक्तानीको प्रक्रियामा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

आर्थिक वर्षको अन्तिमसम्म पुँजीगततर्फ विनियोजितमध्ये १० करोड १० लाख बजेट खर्च हुने उनको भनाइ थियो । यही असार १० गते सम्पन्न गाउँसभाले आगामी आवका लागि ३२ करोड २८ लाखको बजेटसहित नीति तथा कार्यक्रम पारित गरिसकेको छ ।

मराङमा पुगेको, मुना–मुदी सडकको सिम्बाङसम्म मार्ग खुलेको, धारापानीमा विद्युतीकरण शुरु गरिएको, फेदीस्थित दाङखोलामा बेलीब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको, तीन ठाउँमा झोलुङ्गे पुल बनाइएको, मुदीमा टेलिकमको टावर स्थापना गरेर गाउँपालिकाको केन्द्रमा सञ्चार सेवा विस्तार गरिएको, मुनामा सामुदायिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको, गुर्जाको तातोपानी कुण्ड निर्माण, स्थानीय सरकार सञ्चालन सम्बन्धी कानून निर्माणलाई गाउँपालिकाले गत वर्षको मुख्य उपलब्धि मानेको छ ।

दरबन्दीअनुसारका कर्मचारी, बैंकको अभाव, केन्द्रको विवाद, भौगोलिक विकटताका बाबजुद बस्तीस्तरमा राज्यको उपस्थिति गराउन र विकासको पहुँच बढाउन उत्साह र सक्रियताका साथ लागिपरेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् ।

उपाध्यक्ष रेशम छन्त्यालले ताकममा असार महिनाभित्रै प्रभु बैंकको शाखा स्थापना हुन लागेको जानकारी गराउँदै स्थायी कार्यालयबाट नियमित सेवा प्रवाहलाई सहज बनाउने प्रतिबद्धता जनाए । स्थानीय सरकार सञ्चालन सम्बन्धी सात वटा कानून निर्माण भएको र न्यायिक समिति गठन गरेर काम शुरु गरिएको उनले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले दुर्गमस्थानमा पूर्वाधार र पर्याप्त जनशक्तिको अभाव भएपनि उक्त गाउँपालिकाले विकास निर्माणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको चर्चा गर्दै आवश्यक जनशक्तिको व्यवस्थापन र विकासका लागि प्रदेश तथा संघीय सरकारसंग पहल गरिने बताए ।

यसैबीच धौलागिरि गाउँपालिका ४ स्थित धौलागिरि हिमालको आधार शिविरमा पुग्ने पदमार्ग निर्माण भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा बगरदेखि दोभानसम्मको विभिन्न तीन ठाउँमा पदमार्ग र काठको पुल निर्माण गरिएको हो । २० लाखको लागतमा तीन किलोमिटर पदमार्ग र दुई वटा काठका पुल निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर तिलिजाले जानकारी दिए ।

पदमार्ग निर्माणका लागि मन्त्रालयले २० लाख अनुदान उपलब्ध गराएको थियो । घाप्दादेखि अपरवास धारासम्म एक किलोमिटर, अर्चेसदेखि दोभान खोलासम्म एक हजार ३०० मिटर, कैचिभिर देखि तलित्रे सम्म र दोभान खोलामा दुई वटा काठका पुल निर्माण गरिएको उनले बताए ।

भिर र जंगलमा मानिस, गाईबस्तु र घोडा खच्चर हिँड्न सक्ने बाटो बनाइएको छ । नयाँ पदमार्ग निर्माण भएपछि धौलागिरि आधार शिविर पुग्न तीन घण्टा समय लगाएर घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको स्थानीयवासी चन्द्र छन्त्यालले बताए । धाप्चाभिर र कैचीभिरमा दुई काठका पुल बनाइएको छ ।

मिलनचोक–जलजला केबुलकार

सडक पूर्वाधार, कृषि उपजको बजारीकरण, आयआर्जन र सार्वजनिक शिक्षाको गुणस्तर सुधारका योजनालाई प्राथमिकता दिएको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि करीब ३८ करोडको बजेट सार्वजनिक गरेको छ ।

धाइरिङको मिलनचोकदेखि जलजलासम्म काठमाडौंको चन्द्रगिरिको जस्तै केबुलकार निर्माण गर्न सम्भाव्यता अध्ययन लगायतका कामका लागि लगानीकर्ताको खोजी गरिने उक्त गाउपालिकाका अध्यक्ष यामबहादुर मल्लले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सो गाउँसभामा उपाध्यक्ष सीमा गर्बुजा पुनले ३७ करोड ९० लाखको आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।

दरवाङमा सिसी क्यामरा

मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारको सुरक्षालाई चुस्त बनाउन सिसी टिभी क्यामरा जडान गरिएको छ । दोस्रो व्यापारिकस्थल र गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै वडाको प्रस्तावमा गाउँपालिकाको सहयोगमा सिसी टिभी क्यामरा जडान गरिएको हो ।

इलाका प्रहरी कार्यालय, गाउँपालिकाको कार्यालय र स्याउली बजार क्षेत्रमा पाँच थान सिसी क्यामरा जडान गरिएको उपभोक्ता समितिका अध्यक्ष मिराज गौतमले जानकारी दिए । इलाका प्रहरी कार्यालयबाट सिसी टिभी क्यामराले खिचेका दृष्य निगरानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सिसी क्यामरा जडानका लागि गाउँपालिकाले चालू आवमा दुई लाख विनियोजन गरेको थियो । आगामी वर्ष तल्लो बजार र अन्य ठाउँमा पनि सिसी क्यामरा विस्तार गर्ने योजना रहेको वडाध्यक्ष सन्तोष सुवेदीले बताए ।

घलेम्दीको आइपिओ खुला

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाले आइपिओ अर्थात साधारण शेयर खुल्ला गरेको छ ।

प्रवर्द्धक घलेम्दी हाइड्रो लिमिटेडले आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिकाका सर्वसाधारणका लागि पाँच लाख ५० हजार कित्ता साधारण शेयर खुल्ला गरेको हो । शुक्रबारदेखि साउन ४ गतेसम्म अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ, शिख, घार, हिस्तान र राम्चेका बासिन्दाले शेयर लगानीका लागि आवेदन दिन सक्ने कम्पनीका अध्यक्ष किशोर सुवेदीले जानकारी दिए ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले पाँच करोड ५० लाखबराबरको शेयर लगानीको अवसर पाएका छन् । एकजनाले पाँच हजारदेखि दुई लाख ७५ हजारसम्मको शेयर आवेदन दिन सक्नेछन् ।

आगामी असोज महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको बाँध र सुरुङ निर्माणको काम सकिएको कम्पनीका सचिव विमल रिजालले बताए । विद्युत्गृह निर्माण ८० प्रतिशत सकिएको छ । विद्युत्गृहमा जडान गर्ने उपकरण खरिद गरेर आयोजनास्थलमा ढुवानी भइसकेको छ ।

सो बाँधबाट एक हजार ७०० मिटर लामो सुरुङमार्ग हुँदै ल्याइने पानीलाई निलगिरि खोलाको किनारमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने आयोजनाका प्रबन्ध निर्देशक प्रमोद श्रेष्ठले बताए ।

जिल्लाकै उद्योगी व्यवसायीको नेतृत्वमा २०७१ सालदेखि निर्माण शुरु भएको यस आयोजनाको हालसम्म ९२ प्रतिशत काम सकिएको छ । ८५ करोड कूल लागत अनुमान गरिएको घलेम्दीमा संस्थापकको ३८ करोड ५० लाख संस्थापक शेयर लगानी छ । बाँकी झण्डै ४५ करोड भिबोर सोसाइटी विकास बैंक, सिद्धार्थ विकास बैंक, सिद्धार्थ रिटायरमेन्ट फण्ड र टुरिजम् डेभलपमेन्ट बैंकले लगानी गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले दानामा निर्माण गर्न लागेको सबस्टेशनको पूर्वाधार तयार नहुँदासम्म यस आयोजनाबाट उत्पादित विद्युत् नारच्याङकै घरापमा रहेको सबस्टेशनमार्फत केन्द्रीय प्रसारण लाइनमा जडान गरिनेछ ।
रासस

प्रकाशित मिति : २४ असार २०७५, आइतबार ००:००