८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेदकोट भ्रमण वर्ष सफल बनाउन पूर्वाधारमा जोड



 

१४ असार, कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले बेदकोट भ्रमण वर्ष २०७५ मनाउने निर्णय गरेको छ । बेदकोटका रमणीय पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउनका लागि नगरपालिकाले कार्य अगाडि बढाएको छ ।

पर्यटकीयरुपमा आकर्षणका केन्द्रका रुपमा रहेका प्राकृतिक, पुरातात्विक र धार्मिक क्षेत्रको विकासका लागि नगरपालिकाले भौतिक पूर्वाधार विकासका लागि एक करोड रकम विनियोजन गरेको नगर प्रमुख अशोककुमार चन्दले बताए ।

पर्यटकीय प्रचूर सम्भावना रहेका क्षेत्रको विकासका लागि बजेटको व्यवस्था भइसकेकाले द्रुतगतिमा कार्य अगाडि बढाइने उनले बताए । बेदकोटमा पर्यटकीय क्षेत्रका रुपमा बेदकोट ताल, शिवलिंगेश्वर धाम, सिद्धसरोवर, भम्केश्वर मन्दिर, बन्दा ताललगायत रहेका छन् । पर्यटकलाई पर्यटकीय क्षेत्रका बारे जानकारी उपलब्ध गराउनका लागि चोरपानीमा नगरपालिकाले सूचना केन्द्र समेत सञ्चालनमा ल्याएको छ ।

प्रसिद्ध बेदकोट ताल क्षेत्रको दृश्य नियाल्नका लागि भ्यू टावर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ, नगर प्रमुख चन्दले भने, “बेदकोट ताल सरसफाइ गर्ने, त्यस क्षेत्रमा पार्क निर्माण गर्ने, खानेपानीको व्यवस्था गर्ने, ताल संरक्षणका लागि टेवा पर्खाल निर्माण गर्ने कार्यलाई अगाडि बढाउने योजना पनि अघि सारेका छौँ ।”

सबैभन्दा बढी पर्यटकको चाप रहेको शिवलिंगेश्वरमा प्रवेशद्वार र पर्यटकका लागि सेल्फी प्वाइन्ट निर्माण गर्ने कार्य पूरा भएको उनले जानकारी दिए । यस क्षेत्रमा धर्मशाला, मन्दिर निर्माण, पार्क, शौचालय, खानेपानी, टिकट घर, चौकीदारको व्यवस्था र पिकनिक स्पट निर्माणका लागि कार्य अगाडि बढाइएका छन् ।

बेदकोट ताल लिंगा जोड्नका लागि जैविकमार्ग बनाउने कार्य अगाडि बढाउनका लागि वातावरणीय प्रभावका कार्य अगाडि बढाइएको छ । भम्केश्वर मन्दिरको छेउमा भव्य मन्दिर बनाउने कार्यसंगै बन्दा तालसंगै जोडिएको चुनेपानीमा तीर्थयात्री बस्ने घर निर्माणको कार्य यस वर्ष नै पूरा हुने बताइएको छ ।

लिपना, बेदकोट र शिवलिंगेश्वर धाम जोड्नका लागि केबुलकारको व्यवस्था गर्न नगरपालिकाले निजी क्षेत्रलाई सहभागी गराउने महत्वकांक्षी योजना अघि सारेको छ ।

बेदकोट नगरपालिकाका बस्तीसंगै पर्यटकीय क्षेत्रलाई सडक सञ्जालमा जोड्नका लागि रिङरोड (चक्रपथ) बनाउने नगरपालिकाको योजना छ । त्यसका लागि नगरपालिकाले ४५ लाख बजेटको व्यवस्था गरेको छ ।
रासस

प्रकाशित मिति : १४ असार २०७५, बिहिबार ००:००