१३ असार, म्याग्दी । स्थानीय मालिका गाउँपालिका–४ ओखरबोटमा अविरल वर्षासँगै गएराति आएको बाढी र पहिरोले दुईवटा खानेपानी आयोजना बगाएको छ ।
वास परियोजना अन्तर्गत गत वर्ष निर्माण गरिएको लोसरिबाङ खानेपानी आयोजना र महभिर खानेपानी आयोजनाको मुहानको ट्याङ्की सहित पाइपसमेत बगाएपछि खानेपानीको समस्या भएको वडाध्यक्ष दिलीप शेरचनले बताए ।
उनका अनुसार खानेपानी आयोजना अवरुद्ध भएपछि कालोपरामा रहेको लोसरिबाङ खानेपानी आयोजनाका १८ घरधुरी र महभिर आयोजनाका ६० घरधुरी शुद्ध खानेपानी उपभोगबाट वञ्चित भएका छन् ।
दुबै आयोजनाका खानेपानी अवरुद्ध हुँदा ओखरबोटका लोसरीबाङ, सेरागाउँ, महभिर लगायत बस्तीका बासिन्दा समस्यामा परेका छन् । वर्षासंगै आएको बाढीले महभिरका टेकलाल विकको एकतले घरसमेत पूर्णरुपमा क्षति पु¥याएको वडाध्यक्ष शेरचनले बताए । बाढी र पहिरोले ठाउँठाउँमा पहिरो खसेर सडक समेत अवरुद्ध बनाएपछि स्थानीयवासीलाई आवतजावत गर्न समेत समस्या भएको छ ।
रासस
प्रतिक्रिया