१८ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पश्चिम नवलपरासीका स्थानीय तहद्वारा बजेट विनियोजन



 

१२ असार, नवलपरासी । पश्चिम नवलपरासीको स्थानीय तहमा आगामी आर्थिक वर्ष २०७५/७६ का लागि बजेट विनियोजन गरेका छन् ।

सातवटा स्थानीय तह रहेको पश्चिम नवलपरासीमा केही स्थानीय तहले नगरसभामार्फत बजेट सार्वजनिक गरेका छन् भने केही बजेट तर्जुमा गर्ने तयारीमा छन् ।

स्थानीय तहले भौतिक पूर्वाधार, सडक निर्माण, खानेपानी, बाटो, पुल पुलेसा लगायतका विकास निर्माणका कामलाई प्राथमिकता दिएका छन् ।

सुनवल नगरपालिकाले कूल ७८ करोड ७५ लाख बजेट विनियोजन गरेको छ । आन्तरिक आयतर्फ आठ करोड ६७ लाख तथा बाह्य आयतर्फ ७० करोड आठ लाख ४७ हजार बजेट विनियोजन गरेको नगरप्रमुख भीमबहादुर थापाले जानकारी दिए ।

यस्तै, सुस्ता गाउँपालिका ३९ करोड विनियोजनको तयारीमा छ भने रामग्राम नगरपालिकाले ६० करोडको १६ लाख ७१ हजारको बजेट तर्जुमा गरेको छ ।

बर्दघाट नगरपालिका करीब ६० करोड बराबरको बजेट तर्जुमा गर्ने तयारीमा छ । चालुतर्फ २१ करोड र अरु पूँजीगत खर्चतर्फ खर्च गरी बजेट तर्जुमा गर्ने योजना रहेको नगरप्रमुख धीरज शर्मा बस्यालले बताए ।

सरावल गाउँपालिकाले ४६ करोड ४५ लाख बराबरको बजेट तर्जुमा गर्ने योजना बनाएको छ । चालुतर्फ ६० प्रतिशत र पूँजीगततर्फ करीब ४० प्रतिशत बजेट विनियोजन सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले बताए ।

पाल्हिनन्दन गाउँपालिकाले करीब ४४ करोड ४० लाखको बजेट तर्जुमा गर्दैछ भने प्रतापपुर गाउँपालिकाले ४८ करोड बराबरको बजेट तयार पारेको प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले बताए ।
रासस

प्रकाशित मिति : १२ असार २०७५, मंगलबार ००:००