१२ असार, इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले ३१ करोड १० लाख ४३ हजार बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५/०७६ का लागि अनुमानित बजेट, नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले सार्वजनिक गरेका हुन् ।
दोस्रो गाउँसभामा विभिन्न शीर्षकमा बजेट, योजना तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी ३१ करोड १० लाख ४३ हजार बजेट सार्वजनिक गरेको भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईले जानकारी दिए ।
गाउँपालिकाले करबाट ४० लाख, सेवाशुल्कबाट ३२ लाख ३० हजार, दस्तुरबाट सात लाख १० हजार, दण्ड जरिवानाबाट एक लाख १० हजार, अन्य आयबाट २० हजार सहित आन्तरिकतर्फ ८० लाख ७० हजार, सञ्चित कोषतर्फ एक करोड २० लाख, वित्तीय सामाजिकरणतर्फ १२ करोड १५ लाख, राजश्व बाँडफाँडतर्फ सात करोड ८२ लाख ७३ हजार र शसर्त अनुदान नौ करोड १२ लाख गरी ३१ करोड १० लाख ४३ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गरेको छ ।
गाउँपालिकाले १५ लाख माथिका सातवटा गौरवशाली योजना समावेश गरेको छ । गाउँपालिकाको गाउँस्तरीय योजनामा वडा नम्बर १ र २ को सिमानामा अर्जुन मेहताको घरदेखि पशुपति प्रावि हुँदै अकाहा बजार जोडने बाटो कालोपत्रे गर्ने गरी ६५ लाख, ४ र ५ वडाको लोकमार्ग देखि उत्तर अकाहा बजार जोड्ने कालोपत्रेमा दुई करोड १० लाख, फूलचोकदेखि बराहक्षेत्र नगरपालिकाको सीमा जोड्ने कालोपत्रे बाटोमा दुई करोड, भोक्राहा नरसिहंको हनुमान चोकसम्मको कालोपत्रेका लागि एक करोड, जनता मावि भवन निर्माणका लागि १५ लाख, यादव टोल जाने बाटो कालोपत्रेका लागि रु ५५ लाख र ५ नम्बर वडाको सुनसरी नदी पुल देखि पश्चिम यादव टोलसम्मको बाटोका लागि ३५ लाख विनियोजन गरेको छ ।
त्यसैगरी, सुनसरीको कोशी गाउँपालिकाले समेत आव ०७५/०७६ का लागि ३९ करोड ५४ लाख ५७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाबाट संघीय सरकारको अनुदान १३ करोड ४७ लाख, आन्तरिक स्रोतबाट एक करोड, सशर्त अनुदान नौ करोड ८७ लाख र राजस्व बाँडफाडबाट आठ करोड ४१ लाख गरी कूल ३९ करोड ५४ लाख ५७ हजार बराबरको आयव्यय बजेट सार्वजनिक गरिएको अध्यक्ष ऐयुव अंसारीले जानकारी दिए ।
रासस


प्रतिक्रिया