१ कार्तिक २०८१, बिहिबार | Thu Oct 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जहदा गाउँपालिकाको ४२ करोड, सुन्दरहरैचा नगरपालिकाको ७९ करोड बजेट



 

१० असार, विराटनगर । मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक वर्षका लागि ४१ करोड ९४ लाख ४४ हजार बराबरको आय–व्यय विवरण पारित गरेको छ ।

प्रस्तुत बजेटमा चालूतर्फ १६ करोड ८० लाख ९९ हजार ५०० र पूँजीगततर्फ २५ करोड १३ लाख ४४ हजार ५०० विनियोजन गरिएको छ । बजेटमा कृषि र भेटनरीतर्फ एक करोड ९५ लाख, शिक्षातर्फ एक करोड ४४ लाख १९ हजार स्वास्थ्यतर्फ ९० लाख ६४ हजार र पूर्वाधार विकासअन्तर्गत स्थानीय सडक र पुलतर्फ छ करोड ४९ लाख ६४ हजार छुट्याइएको छ ।

यसैगरी सिँचाइतर्फ एक करोड २७ लाख, ऊर्जातर्फ ३४ लाख ९८ हजार ५०० र मध्य तथा ठूला तीनवटा सिँचाइमा एक करोड १५ लाख रकम विनियोजन गरिएको छ । गाउँपालिकामा रहेका सातवटा वडालाई ७१ लाखदेखि एक करोड १६ लाख बजेट छुट्याएको गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलले बताए ।

जनसंख्या, भूगोल र आम्दानीको आधारमा वडाहरुलाई रकम विनियोजन गरिएको जनाएको उक्त गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिअन्तर्गत चार लाख विनियोजन गरेको छ ।

यसैगरी कक्षा ९ र १० मा अध्ययन गर्ने किशोरीलाई प्रजनन स्वास्थ्य शिक्षा तथा सेनटरी प्लाड निःशुल्क वितरण गर्ने, ज्येष्ठ नागरिकको घर घरमा स्वास्थ्य परीक्षण गर्ने, सबै वडाका कार्यालयमा फ्री वाइफाई जोन बनाउने जानकारी दिनुका साथै गाउँपालिका जोड्ने तीनवटा सडक निर्माणका लागि एक करोड ५० लाख बजेटको व्यवस्था गरिएको अध्यक्ष मण्डलले बताए ।

सुन्दरहरैचा ७९ करोड बजेट

जिल्लाको सुन्दरहरैचा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि ७९ करोड ११ लाख ६३ हजारको आय व्यय विवरण प्रस्तुत गरेको छ ।

नगरपालिकाका उपप्रमुख धना तामाङले नगरपालिकाले प्रकोप व्यवस्थापनमा एक करोड, मर्मतसम्भारमा एक करोड २५ लाख, वातावरण विकासकोषमा ३० लाख, आर्थिक विकासमा एक करोड ६४ लाख, पूर्वाधार विकासमा चार करोड ५५ लाख, सामाजिक विकासमा एक करोड ९९ लाख बजेट छुट्याइएको जानकारी दिए ।

नगरप्रमुख शिवप्रसाद ढकालले समुन्नत नगरपालिका बनाउने अभियानमा लागेको बताउँदै नगरपालिकाले एकवर्षमा ३० किलोमिटर कालोपत्रे, ५० किलोमिटर नाला निर्माण तथा ५० किलोमिटरभन्दा बढी सडकको स्तरोनति गरिएको बताए ।

नगरपालिकाले यसवर्षको बजेटमा ज्येष्ठ नागरिकसँग नगरप्रमुख, लोहन्द्रा, गछिया, बूढी, सुकुनालगायतका खोलामा तटबन्ध निर्माण, उज्यालो र प्रविधियुक्त सुन्दरहरैचा, बालबालिकालाई स्कुल पठाऊ, पूर्ण साक्षर नगरपालिका बनाउने कार्यक्रम समेटेको छ ।

यसैगरी कृषिमा आधुनिकीकरण, भौतिक पूर्वाधार निर्माण, पर्यटन प्रवर्द्धन, शिक्षा स्वास्थ्यको विकासमा समेत बजेटले जोड दिएको छ ।
रासस

प्रकाशित मिति : १० असार २०७५, आइतबार ००:००