६ असार, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले टोखा नगरपालिकाले नगर परिषद्मा प्रस्तुत गर्ने आगामी योजनाबारे जनप्रतिनिधिसंग मंगलबार छलफल गरेका छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यसमेत रहेका कावा प्रधानमन्त्री पोखरेललाई यही असार १० गतेदेखि हुने नगरपरिषद् बैठकमा प्रस्तुत हुने अनुमानित ६५ करोड बजेटबारे आफ्नो क्षेत्रका प्राथमिकता र आवश्यकताबारे अवगत गराएका थिए ।
काठमाडौं निर्वाचन क्षेत्र नं ५ ९२० का प्रदेशसभा सदस्य दीपक निरौला, नगरपालिका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल तथा नगरपालिका अन्तर्गतका ११ वटा वडाका अध्यक्षलाई सुझाव दिँदै उपप्रधानमन्त्री पोखरेलले जनताको सहभागिता र स्वामित्वलाई बोध हुने गरी कार्यक्रम र बजेट ल्याउन सुझाव दिए ।
विभिन्न आवरणमा सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने, कब्जा गर्ने र दोहन गर्ने प्रवृत्ति बढेकाले स्थानीय निकायले त्यसलाई संरक्षण गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने उनले बताए । टोखामा रहेका पुराना सम्पदाको संरक्षण र सम्वर्द्धन गर्ने तर्फ सबैलाई जुट्न आग्रह गर्दै उनले त्यस्ता सम्पत्तिको सूचीकृत गर्न आग्रह गरे ।
“हरेक गतिविधिमा जनतालाई सहभागी गराएर पारदर्शीपूर्ण ढंगले काम गर्दा नै सबैले मन पराउँछन्”, पोखरेलले भने, “आफ्नो सुविधा बढाउने कुरामा कृपया नलाग्नुहोला, त्यस्तो कुरा जनताले रुचाउँदैनन् ।”
वरुणेश्वर र टोखाको गुरुयोजना माइगिंत बालमैत्री पार्क, नगरपालिकाको आफ्नै भवन निर्माण, टोखाका सांस्कृतिक सम्पदाको संरक्षण लगायत महत्वपूर्ण पक्षलाई समेटेर कार्यक्रम र बजेट ल्याउन लागिएको नगर प्रमुख अधिकारीले जानकारी दिए ।
रासस




प्रतिक्रिया