७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवलपरासीबाट ३४७ महिला प्रतिनिधि चयन हुने



नवलपरासी, ८ वैशाख । वैशाख ३१ को स्थानीय तह निर्वाचनमा नवलपरासी जिल्लाबाट करिब ३४७ जना महिला प्रतिनिधि चयन हुने भएका छन् ।

विभिन्न राजनीतिक दलहरुबाट विभिन्न पदमा प्रतिनिधि चयन हुने मध्ये कम्तीमा १६६ जना दलित महिला जनप्रतिनिधि चयन हुँदैछन् ।

नगरपालिका प्रमुख वा उपप्रमुखमध्ये एकजना अनिवार्य रुपमा महिला उम्मेदवार हुनुपर्नेछ । गाउँपालिका अध्यक्ष वा उपाध्यक्षमध्ये एकजना अनिवार्य महिला उम्मेदवार हुनुपर्नेछ । साथै, प्रत्येक नगरपालिका वा गाउँपालिकामा चयन हुने चारजना वडा सदस्यमध्ये दुईजना महिला अनिवार्य र त्यसमा पनि एकजना दलित महिलाको प्रतिनिधित्व हुनैपर्ने प्रावधान छ ।

जिल्लामा हाल कायम भएका १५ वटा स्थानीय तहबाट ती महिला जनप्रतिनिधि चयन हुन लागेका हुन् । नवलपरासीमा सात नगरपालिका र आठ गाउँपालिका रहेका छन् । त्यहाँबाट कुल ८९७ जना जनप्रतिनिधि चयन हुँदैछन् ।

नवलपरासीमा स्थानीय तहको निर्वाचनमा नगरसभा तर्फ ६०५ जना र गाउँसभातर्फ २९२ जना जनप्रतिनिधि चयन हुने जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा चूडाविक्रम शाहीले जानकारी दिए ।

नगरपालिकामा एकजना प्रमुख, एकजना उपप्रमुख, प्रत्येक वडामा वडा अध्यक्ष र प्रत्येक वडामा चार–चारजना वडा सदस्य चयन हुनेछन् जसमध्ये वडा सदस्य दुईजना खुल्ला, एकजना महिला र एकजना दलित महिला सदस्य हुनुपर्ने प्रावधान छ ।

नगरपालिका प्रमुख वा उपप्रमुख र गाउँपालिका अध्यक्ष वा उपाध्यक्षमध्ये एकजना अनिवार्य महिला उम्मेदवार हुनुपर्ने भए पनि स्वतन्त्र उम्मेदवारको हकमा सो प्रावधान लागू छैन ।

नवलपरासीमा हाल छ वटा निर्वाचन क्षेत्र छन् जसमध्ये क्षेत्र नं १, २ र ३ मा नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने देखिन्छ । यसैगरी निर्वाचन क्षेत्र नं ४ ५ र ६ मा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

नवलपरासीमा कुल तीनलाख ६९ हजार ८९४ मतदाता संख्या रहेको छ जसमध्ये पुरुष मतदाता एक लाख ८० हजार ३१६ रहेका छन् भने महिला मतदाता एक लाख ८९ हजार ५९४ रहेका छन् । यसैगरी आठजना तेस्रोलिङ्गी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यस जिल्लामा २३२ मतदानस्थल र ४८७ मतदान केन्द्र रहनेछन् । नवलपरासीमा ३२ राजनीतिक दलले दल दर्ता गरेका छन् । रासस

प्रकाशित मिति : ८ बैशाख २०७४, शुक्रबार ००:००