१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उर्लाबारीमा फोहोर व्यवस्थापन चुनौती बन्दै



 

२० जेठ, उर्लाबारी– मोरङ ।
फोहोर व्यवस्थापनमा ल्याण्डफिल साइटको अभाव भएपछि यहाँस्थित उर्लाबारी नगरको फोहोर निजी जग्गामा व्यवस्थापन गरिएको छ । बढ्दो जनघनत्व र बजार विस्तारका कारण मोरङको दोस्रो ठूलो शहरको रुपमा परिचित उर्लाबारीमा फोहोर बढदै गएको तर विसर्जन गर्ने ल्याण्डफिल साइटको अभाव भएको हो ।

उर्लाबारी नगपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी पाएको मेची महाकाली इन्भाइरोमेन्ट केयर प्रालिले विगत डेढ वर्षदेखि ल्याण्डफिल साइटको अभावमा निजी जग्गामा फोहोर व्यवस्थापन गर्दै आएको छ । नगरपालिकाले वार्षिक १५ लाखमा फोहोर व्यवस्थापनको जिम्मा उक्त प्रालिलाई दिएको थियो ।

सो प्रालिले २०७२ साल असार १ गतेदेखि उर्लाबारीमा पहिलो पटक फोहोर व्यवस्थापन गर्दै आएको हो । त्यसअघि फोहोर व्यवस्थापन स्वयम नागरिकले आफ्नै तबरले गर्दै आएको थियो । तीन वर्षअघि भएको सम्झौतामा ल्याण्डफिल साइट नगरपालिकाले व्यवस्थापन गर्ने उल्लेख गरिएको थियो ।

सो प्रालिका व्यवस्थापक नेत्रप्रसाद घिमिरेले नगरपालिकाले व्यवस्थापन गरेको उर्लाबारी–३ स्थित मंगलबारेको डेढ बिगाहा जमिन बक्राहा खोलामा आएको बाढीले २०७३ साल असारमा कटान गरेपछि ल्याण्डफिल साइटको अभाव झेल्दै आएको बताए ।

नगरपालिकाले ७ लाख २१ हजारमा बक्राहा खोला किनारमा किनेको एक बिगाहा सात कठ्ठा ११ धुर जग्गामा कुनै पूर्वाधार निर्माण नगरी फोहोर विसर्जन गर्दा बाढीले बगाएको थियो ।

व्यवस्थापक घिमिरेले त्यसको केही महिनासम्म उर्लाबारी–६ स्थित निर्माणधिन बसपार्क छेउको मावा खोला किनारमा व्यवस्थापन गरिँदै आए पनि स्थानीयवासीको विरोधका कारण समस्या बल्झिएकाले उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको आग्रहमा उर्लाबारी १ स्थित झुम्राको आफ्नै निजी जग्गामा फोहर व्यवस्थापन गर्दै आएको बताए ।

हाल नगरको बजार क्षेत्रको मात्र फोहोर व्यवस्थापनको जिम्मेवारी पाएकोले अन्य स्थानको फोहोर व्यवस्थापन गर्न केही समस्या भएकोले आगामी आर्थिक वर्षदेखि नगरभरको फोहोर व्यवस्थापन गर्न माग गर्दै सफा र सुन्दर नगर पार्न नगरबासीमा जनचेतनामूलक कार्यक्रमका साथै प्रर्याप्त बजेट, स्रोत साधनमा वृद्धि गर्न आवश्यक भएको व्यवस्थापक घिमिरेले बताए ।

नगरमा हाल १ १ वटा ट्रिपर र ट्याक्टरले दैनिक निस्किने १० टन फोहोर व्यवस्थापन गर्दै आएको छ । नगरपालिका प्रमुख फागोले सुन्दर सफा र समुन्नत उर्लाबारी सबैको साझा एजेण्डा भएकोले फोहोर व्यवस्थापका लागि डेढ बिगाहा जग्गा खरिद प्रक्रिया अन्तिमचरण पुगेको बताउछन् ।

ल्याण्डफिल साइट निर्माणका लागि विभिन्न दातृ निकायसँग सहयोग माग भइरहेको र यस विषयलाई नगरको बजेटमा पनि प्राथमिकतामा राखिने प्रमुख फागोले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २० जेष्ठ २०७५, आइतबार ००:००