४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपा गाउँपालिकाका स्वास्थ्यचौकीमा प्रयोगशाला



 

१७ जेठ, पोखरा ।
कास्की जिल्लामा क्षेत्रफलको हिसाब सबैभन्दा सानो एवं सुन्दर रुपा गाउँपालिकामा सञ्चालित ५ वटै स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापना गरिएको छ । स्वास्थ्यचौकीमा प्रयोगशाला सञ्चालनमा आएसँगै कुनै पनि रोगको पहिचानका लागि एक दिन लगाएर पोखरा धाउनुपर्ने उक्त गाउँपालिकाका सर्वसाधारणको बाध्यता अन्त्य भएको छ ।

प्रयोगशालामा रगत, दिसापिसाब, खकारलगायत २० प्रकारका रोगको परीक्षण गरिने गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको १९ लाख र अमेरिकामा रहेका नेपालीको संस्था इन्पावर नेपाल फाउण्डेशनको छ लाखको लागतमा प्रयोगशाला स्थापना गरिएको हो ।

गाउँपालिकाका देउराली र रुपाकोट स्वास्थ्यचौकीका प्रयोगशालाबाट जनताले बुधबारदेखि सेवा प्राप्त गरेको बताउँदै उनले भने–“बाँकी ३ वटा स्वास्थ्यचौकीमा समेत असार मसान्तसम्ममा सेवा सञ्चालन गरिने छ ।”

“कूल तीन हजार ७८० घरपरिवार रहेको गाउँपालिकामा १४ हजार ५ १८ जनसंख्या छन् । पहिलो चरणमा गाउँपालिकाको आन्तरिक स्रोतबाट प्रत्येक स्वास्थ्यचौकीमा एक एक जना ल्याब असिस्टेण्टको समेत व्यवस्था गरिएको छ ।

रुपा ६ का भीरचोक, थुम्की, सिद्ध, हंसपुर र देउरालीमा रहेका स्वास्थ्यचौकीमा आवश्यक भौतिक संरचना तयार भइसकेको र बाँकी वडा नं र २ र ३ मा निकट भविष्यमा स्वास्थ्यचौकी निर्माण गरेर स्थानीय जनतालाई स्वास्थ्य सेवा प्रदान गरिने उनले बताए ।

पाँच स्वास्थ्यचौकीमा पाँच ल्याब असिस्टेण्ट, आवश्यक रसायन र अन्य व्यवस्थापनका लागि वर्षिक लगभग १५ लाख खर्च हुने गाउँपालिकाका उपप्रमुख लालसुब्बा गुरुङ बताउछन् । उनले भने, “गाउँमा सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा, स्वास्थ्य प्रदान गरी बसाइँसराइराइलाई कम गरी कृषि उत्पादनमा जोड दिइने रणनीति गाउँपालिकाले अघि सारेको छ ।

पूर्वस्वास्थ्यमन्त्री एवं संघीय सभासद् खगराज अधिकारीले गाउँपालिकाको केन्द्र भीरचोकस्थित रुपा स्वास्थ्यचौकीमा स्थापित प्रयोगशालाको बुधबार उद्घाटन गर्दै मुलुक र जनताको समृद्धिका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयको २ करोड १३ लाखको लागतमा बनेको सुविधासम्पन्न १८ कोठे भवनको उद्घाटन, गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणाका साथै वडा नं ६ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
रासस

प्रकाशित मिति : १७ जेष्ठ २०७५, बिहिबार ००:००