Logo

वर्षौंदेखि दैनिक एक गाग्री पानीको भरमा गाउँले



धुलिखेल, ६ वैशाख । खानेपानीको अभावका कारण काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–४, झिंगनपुरका स्थानीय बासिन्दा बर्षाै देखि दैनिक एक गाग्री खानेपानीको भरमा जीवन निर्वाह गर्दै आइरहेका छन् । गाउँभरि नै खानेपानीको अभाव रहेका कारण गाउँको बीचमा रहेको एउटा इनारबाट निस्केको पानी बाँडेर जीवन गुजार्दै आइरहेको उनीहरु बताउँछन् ।

स्थानीयवासी पार्वती श्रेष्ठ भन्छिन्, “हामी दिनको एक गाग्री पानीको भरमा हाम्रो घर चलाइरहेका छौँ । गाउँभरिकै एउटा मात्रै इनार, त्यसमा पनि कम पानी आउने गरेको कारण गाउँभरिको सबैलाई भाग लगाउँदा एक–एक गाग्री मात्रै पुग्छ,” श्रेष्ठले भनिन्, “त्यही एक गाग्री पानीको भरमा हाम्रो घर चलाउनु परिरहेको छ ।”

अर्का स्थानीयवासी अभिमन्यु ढुंगानाले गाउँभरि अर्को कुनै पानीको स्रोत नभएका कारण आफूहरु त्यही एउटा इनारको भरमा बाँच्नु परेको बताए । “गाउँभरि नै कतै पनि पानीको अर्को स्रोत छैन, यहीँ भएको इनारमा जम्मा भएको पानी सबैलाई बाँडेर चलाउने हो,” ढुंगानाले भने, “त्यो पनि ढिला आउनेले त कहिल्यै पानी नै पाउँदैन, रित्तै गाग्री बोकेर घर फर्कनुपर्छ ।” घरबाट इनार आइपुग्न आधा घन्टा लाग्ने, त्यसमा पनि लाममा बसेर पालो कुर्दै एक गाग्री पानी बोकेर लान घन्टौँ लाग्ने उनको भनाइ छ ।

उनका अनुसार सो इनार सिङ्गो गाउँभरिकै प्राण धान्ने केन्द्र भएकाले पानीको जोहो गर्नकै लागि ताल्चा लगाएर राखेको हुन्छ । सधैँभरि पानीको सुरक्षा र अभाव पूर्ति गर्नका लागि सबै गाउँले त्यही इनारको पानीको भर पर्नुपर्ने भएकाले पनि ताल्चा लगाएर राख्नु परेको अर्का स्थानीयवासी भगवती ढुंगाना बताउँछिन् । उनका अनुसार उक्त इनार हरेक दिन बिहान दुई घन्टा मात्रै खुल्ला हुन्छ । “दिन र रातभरि जम्मा भएको पानी भोलिपल्ट बिहान दुई घन्टा गाउँलेलाई बाँडेर खान्छौँ,” भगवतीले भनिन्, “त्यो पनि विद्यालय खुलेको दिन त पाँच गाग्री विद्यालयका लागि छुट्याएर मात्रै हामी गाउँलेले लान पाउँछौँ ।”

इनारमा भएको पानी सकेपछि तल खोलाको पानी लिन जानुको विकल्प छैन । “कहिलेकाहीँ त त्यही खोलाको पानी नै खानुपर्ने हुन्छ”, ढुंगानाले भनिन्, “खानेपानीको जोहो गर्नकै लागि घरको एक जना त त्यसैको लागि खट्नुपर्ने हुन्छ ।” खोला पुग्न दुई घण्टा लाग्छ । इनारबाट त्यहाँका ३५ घरधुरीको जीविका चल्छ । उनीहरु भन्छन् – “हामी गाउँलेका लागि खानेपानीको निकै नै दुःख छ । हामीलाई कसैले पनि सहयोग गर्दैन ।” उनीहरुले थपे, “पल्लो गाउँमा यसपालि मात्रै दुईवटा इनार बन्यो, हाम्रो लागि न त संघसंस्थाले हेर्छ न नगरपालिकाले नै ।”

त्यसरी खानेपानीको जोहो गर्दै आएका झिंगनपुरवासीले वस्तुभाउका लागि दुई घन्टा लगाएर तल खोलाबाट पानी ओसार्नुपर्छ । सात वर्षअगाडि बनाएको इनारमा भूकम्प गएपछि पानी झन् सुकेर गएको उनीहरु बताउँछन् । “भूकम्पअगाडि बिहान–बेलुका दिनको दुई गाग्री पानी लान पाइन्थ्यो, अहिले त एक गाग्रीको भर पर्नुपर्छ”, गाउँलेले भने, “त्यो पनि पछि हुनेले पाउँदैन ।” गाउँका ३५ घरधुरीको एउटै इनार जम्मा १८ रिङको छ । उनीहरु भन्छन्, “यसैलाई रिङ अलि बढाएर गहिरो पारेमा पानी बढी निस्कने देखिन्छ ।” रासस

प्रतिक्रिया दिनुहोस्