८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रूकुमको पुथा उत्तरगंगा गाउँपालिकाका सबै वडा सचिवविहीन



 

८ जेठ, रुकुम ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका सबै वडा नौ महिनादेखि सचिवविहीन भएका छन् । दुर्गम भन्दै यहाँ कार्यरत सचिव सरुवा भएर गएपछि गाउँपालिका सचिवविहीन भएका हुन् । दुर्गमताका कारण यहाँ सचिव बस्न नमानेको गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्तीले जानकारी दिए ।

उनका अनुसार असोजभन्दा पहिले पनि चारजना सचिव मात्र थिए भने एकजना सचिवले तीन चार वडा हेर्दै आएका थिए । एकजना सरुवा भएर गएको र अन्य तीन जना गाउँपालिकालाई जानकारी नगराई रुकुम पश्चिम मा रहेका अध्यक्ष घर्तीको भनाइ छ ।

गाउँपालिकाका सबै वडा सचिवविहीन भएपछि प्रशासनिक काम, प्रशासनिक खर्चसमेत अवरुद्ध भएको छ भने वडामा सचिवबाट हुने कामकाज प्रभावित भएको छ । पञ्जीकरण लगायतका काम प्रभावित भएको अध्यक्ष घर्तीले जनाए ।

अहिले सचिव नभएपछि सबै वडामा कार्यालय सहयोगीले सामान्य कामकाज गरिरहेको बताइएको छ । सचिव नहुँदा कार्यालय सञ्चालनमा समस्या भएको छ । यसबारे सामान्य प्रशासन, स्थानीय विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा पटकपटक जानकारी गराए पनि सम्बोधन नभएको गाउँपालिकाका अध्यक्ष घर्तीले गुनासो गरे । १, २ र ३ नं वडाका सचिवले गाउँपालिकामा जानकारी नगराई पश्चिम रुकुममा गएको पनि उनले बताए ।

सचिवहरु यहाँ सञ्चार, सडकलगायतका सुविधा नहुँदा बस्न नमान्ने बताइएको छ । यो मगर समुदायको बाहुल्य भएको क्षेत्र भएकाले खानपान, रीतिरिवाज, बोलीचालीमा समेत फरक पर्दा कर्मचारी यहाँ लामो समयसम्म बस्न नमान्ने बताइएको छ । सचिव नहुँदा दैनिक कामकाजमा समस्या हुने गरेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत तिलक रावतले बताए ।

कार्यालय सहयोगीदेखि प्रमुखसम्मको काम आफूले गर्ने गरेको उनको भनाइ छ । यहाँ लेखापाल र निमित्त प्रशासकीय अधिकृत गरी दुई जना मात्रै निजामती कर्मचारी भएको उनले बताए ।
रासस

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलबार ००:००