२ बैशाख २०८१, आइतबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलोत्तमा नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सम्बन्धि अन्तरक्रिया शुरू



 

४ जेठ, बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालासँग अन्तरक्रिया शुरु गरेको छ । नगरपालिकाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रमका समेट्नुपर्ने विषयका सन्दर्भमा बिहीबारबाट सरोकारवालासँग सुझाव लिन बिहीबार अन्तरक्रिया आयोजना गरेको हो ।

अन्तरक्रियामा विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि, विज्ञहरुको सहभागिता रहेको थियो । सहभागीहरुले पूर्वाधार विकासका कामलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न नगरपालिकालाई सुझाव दिएका छन् ।

बजेट चारैतिर छर्नुभन्दा देखिने गरी पूर्णरुपमा सम्पन्न हुनेगरी योजना बनाउनुपर्नेमा जोड दिँदै उनीहरुले बजेटमा शिक्षा, स्वास्थ्य, सडक र कृषिलाई विशेष महत्वका साथ समावेश गरिनुपर्ने सुझाव दिए ।

बजेट, नीति तथा कार्यक्रमले भएका सडकहरुको सुधार, विपन्न समुदायको उत्थानमा सहयोग, आयआर्जन र स्वरोजगारलाई प्रोत्साहन, किसानलाई मल, बिऊबिजनमा विशेष सहुलियत जस्ता विषयलाई सम्बोधन गर्नुपर्ने सुझाव सहभागीको छ ।

यस्तै, फोहोरमैला व्यवस्थापन, सामूहिक कृषि प्रणाली, स्वास्थ्य बीमा, सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा सुधार, पर्यटन प्रवर्द्धन, खेलकुद लगायतका विषयलाई पनि यथोचित सम्बोधन गर्नुपर्ने सुझाव सहभागीहरुको छ ।

अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख वासुदेव घिमिरेले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलाई बढी महत्व दिएर बजेट विनियोजन गर्न चाहेको उल्लेख गरे । नगरपालिकाले अघि सारेका विकासका ठूला आयोजनाका बारेमा जानकारी गराउँदै नगर प्रमुख घिमिरेले आगामी बजेटको कुल आकार एक अर्ब १९ करोड हुने प्रक्षेपण गरिएको जानकारी गराए ।

उपप्रमुख जागेश्वरी चौधरीले बजेटलाई सकेसम्म यथार्थ र परिणाममुखी बनाउन खोजिएको बताए । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले गतिशील दृष्टिकोणका साथ बजेट तथा कार्यक्रम निर्माण गर्न लागिएको जानकारी गराउँदै ‘नो–कष्ट’ बाट गर्न सकिने कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको उल्लेख गरे ।

तिलोत्तमा नगरपालिकाले आगामी असार १ गते नीति तथा कार्यक्रम र असार १० गते नगरसभामा बजेट पेश गर्ने जनाएको छ । नगर प्रवक्ता सुरेन्द्र श्रीले सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले का प्रदेश कमिटी सदस्य गोपाल भट्टराई, नेपाली कांग्रेसका तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, नगरपालिकाका कानुनी सल्लाहकार खुमकान्त पौडेल, शिक्षाविद् टेकबहादुर थापा लगायतले विभिन्न विषयमा सुझाव दिएका थिए ।
रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७५, शुक्रबार ००:००