२ जेठ, पथरी– मोरङ ।
मोरङको पथरीशनिश्चरे नगरको प्रमुख बजारका रुपमा रहेको पथरी बजार पूर्वपश्चिम मुख्य सडक क्षेत्रलाई व्यवस्थित गर्ने नगरपालिकाले निर्णय गरेको छ ।
नगर कार्यपालिकाको मंगलबारको बैठकले तीन दिन लगाएर चोकको मध्यभागबाट दुवैतर्फ ८२ ८२ फिट सडकको क्षेत्र खाली गरिसकेको सो सडक क्षेत्रको व्यवस्थापनमा प्राविधिक इस्टमेट गरेर योजना बनाइने निर्णय भएको प्रवक्ता यामप्रसाद गुरागाईंले बताए ।
तत्कालका लागि खाल्डाखुल्डी भएको ठाउँ पुर्ने र सम्याउने काम हुने भएको उनले उल्लेख गरे । नगरको निकै महत्वपूर्ण परियोजनाका रुपमा सञ्चालनमा रहेको ढल निकासका लागि नगरपालिकाले वडा नम्बर ७ मा थप जग्गा व्यवस्थापन गर्न समिति निर्माण गरेको छ ।
समितिको संयोजकमा ६ नम्बरका वडाध्यक्ष जयबहादुर तामाङ तथा सदस्यमा २ नम्बरका वडाध्यक्ष यामप्रसाद गुरागाईं, ४ नम्बर अध्यक्ष गोविन्दबहादुर भण्डारी, कार्यपालिका सदस्य गीता विश्वकर्मा र ७ नम्बर सदस्य मैनाकुमारी राई लिम्बू रहेका छन् ।
नयाँ आर्थिक वर्षका लागि अझ प्रभावकारी नीति, कार्यक्रम तथा बजेट निर्माण गर्ने सन्दर्भसँग जोडेर जेठ ७ गते विज्ञसँग अन्तरक्रियात्मक छलफल गर्ने निर्णयसमेत भएको छ ।
लाटी खोला कल्भर्टको उद्घाटन
यसैबीच, स्थानीय सरकारको अधिकार आएपछि मोरङको पथरीशनिश्चरे नगरमा विकास निर्माणका योजना प्रसस्त सञ्चालन भई सम्पन्न हुने क्रमको दौडधुपबीच वडा नम्बर २ स्थित लाटी खोला कल्भर्ट पनि निर्माण सम्पन्न भएको छ ।
मंगलबार एक कार्यक्रमका बीच नगरप्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट बाँस्तोला, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, वडाध्यक्ष यामप्रसाद गुरागाईंसहितले कल्भर्टको उद्घाटन गरे ।
स्थानीय उपभोक्ता आफैँले निर्माण सामग्री बोक्दै चुस्तरुपमा निर्माण कार्यमा सक्रिय सहभागिताको नमूना प्रदर्शन भएको सो कल्भर्ट १२ लाख १ हजार ७५० को लागतमा निर्माण सम्पन्न भएको हो ।
यसमा नगरपालिकाको १० लाख, उपभोक्ता एवं बाटोका जग्गाधनीबाट १ लाख ५१ हजार, चौतारी र सुन्दर सामुदायिक वन उपभोक्ता समूहबाट २५ २५ हजार जुटाएर काम सम्पन्न भएको निर्माण उपभोक्ता समिति अध्यक्ष खिलनाथ घिमिरेले बताए ।
कल्भर्ट निर्माण भएपनि त्यहाँको बाटोलाई व्यवस्थित गर्न आवश्यक रहेकाले सबै पक्षको सहकार्यमा बाटो व्यवस्थित गर्ने अभियान सञ्चालन गरिने घिमिरेले उल्लेख गरे ।
रासस




प्रतिक्रिया