१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँमा गएर चुनावी वातावरण बनाउन दलहरूसँग प्रमुख आयुक्त यादवको आग्रह



काठमाडौँ, ४ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले गाउँ–गाउँमा गएर निर्वाचनको वातावरण बनाउन राजनीतिक दललाई आग्रह गरेका छन् ।

निर्वाचन आयोग स्थित आफ्नो कार्यकक्षमा पत्रकारसंग कुराकानी गर्दै उनले मतदानको मिति नजिकिँदै गरेको अवस्थामा समेत राजनीतिक दलका चुनावी गतिविधि आशातीत रुपमा गाउँमा नदेखिएको बताए ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने, “लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको स्थानीय तहको २० वर्षपछि हुन लागेको निर्वाचन प्रति सबै राजनीतिक दलबाट आवश्यक प्रचारप्रसार र मतदाता शिक्षाकामा पहल हुनुपर्छ । अब त्यसमा कुनै किसिमको कमीकमजोरी हुनुभएन ।”

अहिले देखिएको राजनीतिक समस्यालाई अविलम्ब समाधान गर्न दलका नेताहरुलाई आग्रह गर्दै डा. यादवले भने, “आयोगले अब तत्कालै निर्वाचनका लागि राजनीतिक वातावरण चाहेको छ ।”

उनले भने, “निर्वाचन आयोग यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि बनाएको कार्ययोजना अनुसार नै अघि बढिरहेको छ । मतदातालाई स्वतन्त्र र भयरहित ढंगबाट मतदान गर्ने वातावरण सरकार र राजनीतिक दलले बनाइदिनुपर्छ ।”

मुलुकका ७४४ स्थानीय तहमा वैशाख ३१ गते आइतबार हुने निर्वाचनका लागि अहिलेसम्म ७१ जिल्लाको मतपत्र, ६७ जिल्लाको मतदाता नामावली र ६० जिल्लाको मतदाता परिचयपत्रको छपाइको काम भइरहेको पनि उनले जनकारी दिए ।

अहिले मतपत्र पोको पारेर जिल्ला पठाउने, नामावली वेबसाइटमा राख्ने जस्ता काम भइरहेका छन् । आइतबार मुलुकका सातै प्रदेशका ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना शान्तिपूर्ण ढंगबाट सम्पन्न भयो । रासस

प्रकाशित मिति : ४ बैशाख २०७४, सोमबार ००:००