१ जेठ, नुवाकोट ।
यहाँको आठौँ स्थानीयतहको रुपमा तार्केश्वर गाउँपालिका सोमबार खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ । गाउँपालिकामा रहेका ६ वटै वडाका ३ हजार ५११ घरमध्ये करीब ९९ प्रतिशत घरमा पक्की शौचालय निर्माण भएको सरकारी तथ्यांकको आधारमा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले खुला दिसामुक्त क्षेत्र भएको घोषणा गरेका हुन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले खुला दिसामुक्त क्षेत्र घोषणालाई कार्यान्वयन गरी दिगोरुपमा स्वास्थ्य क्षेत्रमा सुधार गर्न स्वच्छ खानेपानी, बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याउन सुझाव दिए ।
यस्तै, गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीले यसअघि वडा नं २, ३ र ४ खुला दिसामुक्त क्षेत्र घोषणा भएकोमा बाँकी थप तीन वटा वडासहित सिंगो गाँउपालिकानै घोषणा गर्न सफल भएकाले त्यसलाई कायम राख्न जनताबाट पनि सहयोगको अपेक्षा लिएको बताए ।
उनले खुला दिसामुक्त क्षेत्र कायम गराउन आवश्यकताको आधारमा सार्वजनिक शौचालयको निर्माण र चरम अभाव रहेको खानेपानीको व्यवस्था सहज बनाउन आसन्न आर्थिक वर्ष योजना तथा कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारादेवी रिमाल, वडाध्यक्ष, महिला समूह, महिला स्वास्थ्य स्वंयसेविका, राजनीतिक दलका प्रतिनिधि, शिक्षक एवं विद्यार्थीको सहभागितामा चेतनामूलक झाँकी तथा ¥याली प्रस्तुत गरिएको थियो ।
यहाँ रहेका बाह्रमध्ये बाँकी चार स्थानीयतहलाई आगामी जेठ ८ गतेभित्र खुला दिसामुक्त क्षेत्र घोषणा गरी सिंगो जिल्लालाई नै घोषणा गर्ने लक्ष्य छ ।
रासस
प्रतिक्रिया