२८ वैशाख, बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका २५ सडकको अधिकार क्षेत्र निर्धारण गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अधिकार प्रयोग गरी स्थानीय सडकको अधिकार क्षेत्र न्यूनतम १३ मिटर (करीब ४३ फिट) निर्धारण गरिएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।
स्थानीय सरकार सञ्चालन ऐनको दफा ४५, उपदफा १ मा गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्र स्थानीय सडकको दायाँबायाँको अधिकार क्षेत्रको सीमा तोक्न सक्ने उल्लेख छ । अधिकार क्षेत्र तोकिएको सडकमध्ये तिलोत्तमा चक्रपथमा पर्ने सडकका हकमा नयाँ मापदण्ड कायम गरी लागु गरिने नगरपालिकाले जनाएको छ ।
प्लटिङ गरिने जग्गामा समेत न्यूनतम ३० फिट बाटो कायम गरेको तिलोत्तमाले महत्वपूर्ण स्थानीय सडकको सीमा ४३ फिट कायम गरेको हो । तिलोत्तमाले मंगलापुर–कान्छीबजार, पत्थरडाँडा–तिनाउ, ड्राइभरटोल–शिवपुर, गणेशनगर–शिवपुर–सेमरा–मुडियारी, भलवारी–तिनाउ, शंकरनगर–वनवाटिका, कोटिहवा–कानपारा, पुरानो सडक अर्थात् ड्राइभरटोल–कोटिहवा, रोहिणी पुलबाट भूपू सैनिक हुँदै कान्छीबजार–जमुहानी–ठटहारिया सडकबीचबाट ४३ फिट कायम गरेको छ ।
यस्तै शंकरपुरबाट नगरपालिका भवन निर्माणस्थल जोड्ने सडक, मधवलिया–कान्छीबजार, भरौलिया–ठटरिया–कानपारा, कोटिहवा–टिकुलीगढ, सीता राइस मिल–डिंगरनगर, योगीकुटी–शारदा स्कूल–भवानीपुर जोड्ने सडकको पनि त्यति नै फिट कायम गरिएको नगरपालिकाले जनाएको छ ।
टिकुलीगढ–पश्चिम पहुनी–गोरकट्टा–डिंगरनगर– योगीकुटी, नयाँ मिल–तिनाउ, न्यूलाइट–प्रेमनगर, योगीकुटी–शिवचोक–प्रेमनगर–टीकाभवन, मंगलापुर, शिवपुर– बुधबारे–मक्रहर–बेवरी, सुखाहानी–बेहुली–गंगोलिया, नयाँमिल –प्रगतिचोक– रामनगर–भलबारी सडक पनि उति नै कायम गरिएको छ ।
यसैगरी पूर्वपहुँनी डाँडा–कुन्जलापुर–भक्तपुर, सीता राइसमिल जोडिने सडक, जहदा– मुडियारी, जबरजस्तपुर– लखनचोक सडकको पनि सोही परिमाण कायम गरिएको नगरपालिकाले जनाएको छ । अधिकार क्षेत्र कायम गरिएका सडकको स्तरोन्नतिलाई नगरपालिकाले मुख्य प्राथमिकतामा राखेको छ ।
नगरपालिकाले पहिलो चरणमा धेरै प्रयोगमा आउने सडकको अधिकार क्षेत्र निर्धारण गरेको हो । स्थानीय सरकार सञ्चालन ऐनको दफा ४५, उपदफा २ मा गाउँपालिका वा नगरपालिकाले राष्ट्रिय तथा प्रदेशस्तरीय सडकको अधिकार क्षेत्र मापदण्ड पालना गर्नु/गराउनुपर्ने उल्लेख छ ।
रासस
प्रतिक्रिया