११ चैत्र २०८०, आइतबार | Sun Mar 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुक्तिनाथको फेदी ठिनी गाउँमा थकाली होमस्टे



निरज थकाली
२७ वैशाख, ठिनी– मुस्ताङ ।
के तपाँई वर्षात् अघि मुक्तिनाथ यात्रामा निस्कने तयारी गर्दै हुनुहुन्छ, यदि त्यसो हो भने तपाईका लागि खुशीको खबर छ– मुक्तिनाथको फेदी ठिनी गाउँमा सस्तोमा खाना खुवाउने र बास बस्ने गरी थकाली होमस्टे सञ्चालनमा आएको छ ।

प्राकृतिक सौन्दर्य र रमणीय दृष्य, हेर्दै लोभलाग्दो ठिनी गाउँमा घरबास ९होमस्टे० मा बस्न र हिमाली संस्कृतिको अध्ययनका लागि पर्यटक आउने गरेका छन् ।

“घरबास पर्यटनले ठिनी गाउँको रहनसहन, वेशभूषा, थकाली भाषा, संस्कृति, परम्परा, चाडपर्व, मेलाजात्राको बारेमा जानकारी तथा देश तथा विदेशमा चिनाउनको लागि सहयोगी बन्दै गएको छ,” स्थानीय जनमुक्ति क्लबका अध्यक्ष नरेन्द्र थकालीले भने ।

जोमसोम बजारबाट दुई किमीको दूरीमा रहेको ठिनी गाउँमा सञ्चालित घरबास कार्यक्रम प्रचारप्रसार हुनसकेमा यो पर्यटकको महत्वपूर्ण गन्तव्य बन्न सक्ने उनले बताए ।

“आफ्नो संस्कृति जोगाउनु मात्र नभई यसलाई प्रष्फुटन गर्नु पनि जरुरी हुन्छ,” उनले भने, “पर्यटक मात्र नभएर विदेशी राष्ट्रका उच्च अधिकारीको भ्रमण पनि यो क्षेत्रमा हुन थाल्नुले यहाँको पर्यटनलाई अझै उचो बनाउने पक्का पक्की छ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २९ गते हुन लागेको मुक्तिनाथ भ्रमणसंगै भारतीय पर्यटकका साथै अन्य विदेशी राष्ट्रका पर्यटकको आगमन बढ्ने विश्वास लिइएको उनले बताए ।

ठिनी गाउँको घरबास पर्यटनको पहिलो चरणको कार्यक्रम सफल भइसकेको छ । थकाली समुदायको उद्गमस्थल ठिनीमा पर्यटनमार्फत समृद्धि ल्याउन घरबास शुरु गरिएको थकाली समुदाय होमस्टेका अध्यक्ष सनप्रसाद थकालीले बताए ।

उनका अनुसार मुस्ताङको सदरमुकाम जोमसोमसंग जोडिएको गाउँमा थकाली सभ्यता अध्ययन गर्न पाइन्छ । ठिनीबाट मुक्तिनाथ यात्रा गर्न २४ किमी पर्दछ, जसका लागि जिपमा यात्रा गर्दा डेढ घण्टा लाग्छ ।

ठिनी गाउँमा अवलोकन गर्नका लागि कुछप तेरङ्गा गुम्बा, युङडुङ गुम्बा, लकी कर्पोक गुम्बा, घरपझोङ किल्ला, ढुम्बाताल, नीलगिरि हिमाल, थकाली संग्रहालय लगायतका सम्पदा रहेका छन् ।

ठिनीलाई हिउँ चितुवाको राजधानीसमेत भनिन्छ । गाउँमाथिको नमखुलेकमा २०७० सालमा एक्यापले गरेको क्यामेरा ट्रयापिङमा चार वटा हिम चितुवा देखिएका थिए ।

सदरमुकाम जोमसोमदेखि नजिकै रहेको र गुजुमुज्ज एकै ठाउँमा सबै घर रहेको ठिनी गाउँ घरबास पर्यटन सञ्चालनका लागि अत्यन्त उपयुक्त स्थल भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका तुलसी दाहालले बताए । यो होमस्टे २०७४ भाद्र १० गते नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमूख दिपकराज जोशीले गरेका थिए ।

होमस्टेका कारण ठिनी गाउँ सुन्दर र पर्यटकीयरुपमा चिनिँदै जानु र आन्तरिक पर्यटन मौलाउँदै जानुमा स्थानीयलाई आर्थिक मात्र नभई सामाजिक र सांस्कृतिकरुपमै पनि फाइदा हुने भएसँगै स्थानीयवासी यतिखेर उत्साहित भएका छन् ।
रासस

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहिबार ००:००