२८ बैशाख २०८१, शुक्रबार | Sat May 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१५ दिनमा आउने तानसेनको खानेपानी



बिजय बौडेल

पाल्पा । घरैघरले ढाकेको एउटा पहाड । त्यस्तो भिरमा पनि कसरी अडिएका होलान जस्तो लाग्ने घरहरू । शिरमा सल्लाघारीले भरिएको श्रीनगरले तानसेन बजार स्वर्गको टुक्रा जस्तै लाग्छ ।

एक पहाडी क्षेत्र जहाँ न धेरै गर्मी हुन्छ न धेरै जाडो । यी नै बिशेषताले गर्दा पाल्पालाई पहाडकी रानी पनि भनिन्छ । तर यही रानी बजारमा बस्नेहरुलाई एउटा समस्याले दिनरात सताउँछ, त्यो हो खानेपानी ।

पाल्पा सदरमुकाम तानसेन नगरमा आवश्यक्ता भन्दा निकै कम मात्रामा खानेपानी वितरण हुने गर्छ । तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्यले पानीका मुहान सुकेर दैनिक ५/६ लाख लिटर खानेपानी मात्र वितरण गर्न सकिएको बताए ।

जबकी तानसेनमा दैनिक २५ लाख लिटर खानेपानी आवश्यकता पर्ने डिभिजन खानेपानी कार्यालयको भनाइ छ । खानेपानी मामिलाका जनाकारहरूको भनाइमा, “बजारको जनसंख्या बृद्धि, थपिएका अव्यवस्थित पूर्वाधार, आधुनिक जीवनशैली र सही तरिकाले योजना बनाउन नसक्दा खानेपानीको अवस्था निकै दयनीय छ ।”

सिस्ने मुलबाट दुईपटक लिफ्ट र भुल्केवाट चारवटा पम्पले लिफ्ट गरेर तानसेन बजारमा खानेपानी ल्याउनुपर्छ । होलाङ्गदी, तीनधारा, भुल्केवाट समेत खानेपानी आपुर्ति गरिदै आएको डिभिजन खानेपानी कार्यालयले जनाएको छ ।

तानसेनमा अहिले ९ किलोमिटर टाढाको भुल्के र ३ किलोमिटर टाढा सिस्नेवाट पम्पिङ्ग गरी खानेपानी ल्याइएको छ । भुल्के, सिस्ने र होलाङ्दीबाट तानसेनका दुई हजार ७ सय ९४ धारामार्फत २७ हजार ७ सय २६ जनाले खानेपानीको उपभोग गर्दै आएका छन् ।

भुल्केमा १५, सिस्नेमा ५, होलाङ्गदीमा २ र तिनधारामा २ पम्म सञ्चालनमा रहेकामा खडेरीले गर्दा प्रत्येक मुहानबाट एकएक वटा मात्र पम्प सञ्चालन गर्नुपर्ने अवस्था आएको तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष शाक्यले जानकारी दिए ।

तानसेन बजार (कोर) क्षेत्रमा बसोवास गर्ने जनसंख्या ४० हजार छ । लगभग त्यत्तीकै मात्रामा विभिन्न पेशा, व्यवसाय, अध्ययन, जागीर गरि बस्ने डेरावालहरू छन् ।

हप्तामा एक पटक आधा-एक घण्टा धारामा पानी आउने गरेपनी जनसख्याँ बढेसंगै अहिले त १५ दिनमा एक पटक मात्र पानी आउने गर्छ । त्यो पनि कुन समयमा आउँछ थाहा हुँदैन ।

“आज आउँछ की भोली भन्दै सबै काम छाडेर पानी कुरेर बस्नुपर्छ,” तानसेन टक्सारटोलकी शान्ति बस्यालले भनिन्, “सिस्टम नै छैन । जहिले मन लाग्यो त्यतीबेला छोडिदिन्छन् । कहिले एक हप्तामा आउँछ, कहिले १५ दिन सम्म पनी पानी आउँदैन ।”

बस्यालको भनाईमा, “कहिलेकाँही त खाना पकाउने बेला जारको पानी किन्न जानुपर्छ । हेर्दा स्वर्ग जस्तो देखिने यो ठाउँ बस्नेहरुको लागी नर्क जस्तै भएको छ ।”

खानेपानी बितरण गर्ने जिम्मेवारी उपभोक्ता समितिलाई दिईएको छ । तानसेनका ढुंगेधाराहरु नारायणस्थान, टक्सार, तिनधारा, होलाङ्दी लगाएतका पानीको मुल लगभग सुक्ने अवस्थामा छन् ।

त्यसलाई राम्ररी व्यवस्थापन गर्न नसक्दा पानीको स्रोत संकटमा पर्दै गएको छ । पिउने पानीको संकट चुलिएपछि ति धाराहरूमा रातभर लामो लाइन हुने गर्छ ।

बर्षेनस् गाउँबाट बसाइँ सरेर तानसेन आउने क्रम बढ्दै छ । सरकारी तथा गैरसकारी कार्यालयहरुको सख्याँ पनि उत्तिकै छन् । जिल्ला सदरमुकामको भीड पनि धान्नुपर्छ तानसेनले । यतिबिध्न चाप खेपी रहेको तानसेनको खानेपानी समस्यालाई कुनै दल वा सरकारी निकायले गम्भिरता पूर्वक लिएको देखिन्न ।

“प्राकृतिक वातावरण, सुन्दर, स्वच्छ र मनोरम भएपनी यहाँको खानेपानी समस्याले तानसेनमा घर बनाउन मनले मानेन,” तानसेन छोडेर बुटवलमा घर बनाएर बस्न थालेका तानसेन ८ का राजन अर्यालले भने, “खानेपानी नहुँदा हरेक क्षेत्रमा असर पर्दो रहेछ । कहिलेकाँही त पसल बन्द गरेर खानेपानी थाप्न कोठामा बस्नुपर्ने हुन्थ्यो ।”

तानसेनमा खानेपानीको कतिसम्म अभाव छ भन्ने दृष्टान्त अर्यालको यो भनाइबाट पनि स्पष्ट हुन्छ । “धेरै भाई बहिनी कलेज नगई पानी थाप्न लाइनमा बसेको देखेको छु । हामी जस्ता व्यापारीहरुले पानी किनेर पनि काम चलाउन सकौला । तर पढ्न बस्नेहरुले के को पैसाले किनेर खानु ? कहिलेकाँही त पानी नभएर खान नपकाई बसेको मैले देखेको छु ।”

हुन पनि नजिकै ढुंगेधाराहरू छैनन । होटल संचालकले ट्याङ्करबाट पानी किनेर काम चलाउँछन् । “होटल खोल्नुभन्दा पहिले पानीको व्यवस्थापन नगरी खोल्नै हुन्न । धेरे खर्च त पानी किन्नमा लाग्छ,” तानसेन लहरे पिपलकी होटल व्यवसायी लक्ष्मी खाम्चा मगरले भनिन, “पानी खोलीदिने कर्मचारी समेत बिक्छन् । कसैले सय पचास रुपैंया दियो भने जुनसुकै बेला पनि त्यो लाईनको पानी खोलिदिन्छन् । नभए त्यतिकै हो ।”

लक्ष्मीका भनाईअनुसार खानेपानी संकट आउनुमा उपभोक्ता समितीको लापरबाहीले पनि काम गरेको देखिन्छ । खानेपानी संकटको सार्वजनिक असर पनि देखिन थालेको छ । सार्वजनिक सौचालयहरु पानी अभावको कारणले दुर्गन्धित छन् । बजार र गल्लीहरू फोहोरले गर्दा दुर्गन्धित छन् । स्वस्थ्य पर्यटनमा समेत यसले प्रभाव पारिरहेको छ ।

तानसेन खानेपानी संकलन केन्द्रको क्षमता १३ लाख ७५ हजार लिटर मात्रै छ । पानी तान्दा बिजुली चार्ज मात्रै महिनाको ११ लाख र प्रशासनिक खर्च ४ लाख ६० हजार रुपैयाँ तिर्ने तानसेन खानेपानी उपभोक्ता समितिले महिनाको ८ लाख ६० हजार रुपैया घाटामा योजना चलाइरहेको छ ।

खानेपानी योजनाको आम्दानी भने महिनाको सात लाख एक हजार ६ सय रुपैयाँ मात्रै छ । तानसेनमा पानीको चुहावट पनि उच्च छ । खानेपानी उपभोक्ता समितिका भनाईमा, “पुरानै प्रणालीको वितरण सञ्जालले गर्दा ३५ प्रतिशत पनि उपभोक्ताको धारामा नपुग्दै खेर जान्छ ।”

तानसेनको खानेपानी समस्या समाधानका लागि प्रयास भने नभएका होइननन् । यहाँको खानेपानी समस्या समाधान गर्न कालीगण्डकी लिफ्टिङ खानेपानी आयोजनाको प्रक्रिया सुरु गरिएको छ । यो महत्वाकांक्षी योजना कार्यान्वयन भए यहाँको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान हुने अपेक्षा गरिएको छ ।

खानेपानी तथा ढल निकास विभाग, डिभिजन खानेपानी कार्यालय र तानसेन खानेपानी उपभोक्ता समितिले बौघागुम्हाको छेर्लुङबाट मल्टी पम्प पद्धतिबाट ९ किमि टाढा रहेको तानसेन बतासेमा ल्याई वितरण गर्ने तयारी थालेको हो ।

कालीगण्डकीको पानी ल्याउन विस्तृत परियोजना प्रतिवेदन तयार भएर ठेक्का प्रक्रियामा गइसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख इन्जिनियर केशवलाल शाक्यले बताए ।

शाक्यका अनुसार बहुवर्षे योजना अन्तर्गत ठेक्काको सूचना जारी भइसकेको छ । पर्याप्त बजेट भए २ वर्षभित्र कालीगण्डकीको पानी तानसेन आउनेछ । अहिलेको ठेक्का अनुसार मल्टीपम्प जडान, इन्टेक निर्माण लगायतको काम हुनेछ । अर्को वर्ष पानी ल्याउने योजना छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार, कालीगण्डकीको पानी तानसेन ल्याउँदा प्रतिघण्टा १ लाख ३५ हजार लिटर जम्मा हुन्छ । १८ घण्टा दैनिक पानी तान्दा २४ लाख ३० हजार लिटर पानी टयांकीमा जम्मा गर्न सकिन्छ ।

बौघागुम्हाको साप्लाक ठूलोबगर ठूलो ढुंगामा मुख्य स्टेसन रहनेछ । त्यहाँबाट लिफ्ट गरी पानी तानसेन ल्याइनेछ । २९ करोड रुपैयाँको लागतमा तयार हुने योजनाले कम्तीमा १५ वर्ष थेग्नेछ । उपभोक्ताले ३ करोड रुपैयाँ जुटाउनुपर्ने छ ।

बौघागुम्हाका ३ स्थानमा पम्प रहन्छ भने बौघापोखराथोकको एक र अन्तिम स्टेसन बतासेमा रहन्छ । तानसेन खानेपानी उपभोक्ता समिति अध्यक्ष चकोरमान शाक्यले उपभोक्ताको लागत सहभागिताका लागि प्रत्येकबाट हजार रुपैपाँका दरले उठाउन सुरु गरेको बताए ।

शाक्यका अनुसार नदीको पानी तानसेनमा ल्याउँदा मासिक १७ लाख रुपैया बिजुलीको बिल तिर्नुपर्ने हुन्छ । कर्मचारी अपरेटर र मर्मत खर्चसहित मासिक २० लाख रुपैयाँ उपभोक्ताको खर्च हुन्छ । कालीगण्डकीबाट तानेपछि तेस्रो स्टेसनमा फिल्टर गरेर मात्र तानसेनको टयांकीमा पठाइने छ ।

आकासको पानी संकलन गर्ने कार्यलाई नगरपालिकाले प्रोत्साहन गरे पानीको समस्या केही मात्रामा समाधान हुन सक्छ । २०६० साल पछि बनेका केही घरमा मात्रै आकासको पानी संकलन गर्ने उपाय अपनाईएको तानसेन नगरपालिकाका मेयर अशोककुमार साहीले जानकारी दिए ।

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलबार ००:००