१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अभावै अभावमा गुज्रदै बुलिङटार गाउँपालिका



 

२३ वैशाख, नवलपरासी ।
भौतिक संरचना तथा आवश्यक कर्मचारी नहुँदा पनि पूर्वी नवलपरासीको पहाडी बुलिङटार गाउँपालिका जसोतसो सञ्चालन हुँदै आएको छ ।

गाउँपालिका क्षेत्रभित्र राष्ट्रिय प्रशारणको लाइन (विद्युत्), इन्टरनेटको पहुँच, गाउँपालिकाको भौतिक पूर्वाधार सहितको भवन र दरबन्दी अनुसार कर्मचारीको अभावमा पनि उक्त गाउँपालिका सञ्चालन हुँदै आएको अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिए ।

उक्त गाउँपालिकामा इन्टनेट नभएका कारण मन्त्रालयको निर्देशन, पत्राचार वा निर्णय समयमै थाहा पाउन नसक्दा कार्यसम्पादनमा निकै कठिनाइ भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले बताए ।

गाउँपालिका कार्यालयमा इन्टरनेट नहुँदा दिनभरी समय खर्चेर सदरमुकाम कावासोती वा गैँडाकोट पुग्नुपर्छ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, “हुलाकद्वारा आउने पत्र आउन एक महिनासम्म लाग्छ कसरी समग्र गाउँपालिकाको काम सहज हुनसक्छ ।”

गाउँपालिका क्षेत्रभित्र राष्ट्रिय प्रशारणको लाइन नभए पनि लघु विद्युतीकरण र सोलारको व्यवस्था भए पनि त्यो प्रभावकारी छैन । राष्ट्रिय प्रशारणको लाइन नहुँदा विशेष गरी स्वास्थ्य चौकीका उपकरण सञ्चालन हुनसकेको छैन भने विभिन्न सरकारी कार्यालयमा विद्युतीय हाजारी जडान गरे पनि सेवा प्रभावकारी हुनसकेको छैन ।

अझ बढी समस्या गाउँपालिका कर्मचारीको छ । ६ वटा वडा रहेको यस गाउँपालिकामा एक जना पनि वडा सचिव नहुँदा सबै वडाको काम समेत सिंगो गाउँपालिकाले गर्दै आएको छ । ६ वटा वडा कार्यालयमा वडा सचिव अथवा पञ्जिकाधिकारी नहुँदा सबै वडाको वडा सचिव तथा पञ्जिकाधिकारीको भूमिका समेत आफैले निर्वाह गर्दै आएको स्वास्थ्य शाखाका स्वास्थ्य सहायक गणेश न्यौपानेले जानकारी दिए ।

इन्टरनेटको पहुँच नहुँदा दैनिक घटना दर्ता अनलाइन गर्न सकिएको छैन स्वास्थ्य सहायक न्यौपानेले भने, “पञ्जिकरणको काम तत्कालै अनलाइनबाट गर्नुपर्ने भए पनि यस गाउँपालिकामा त्यसो गर्न असम्भव भएकाले रेकर्डमा उल्लेख गर्ने गरिन्छ ।

कूल २९ जनाको दरबन्दी रहेपनि अहिले एक प्रमुख प्रशासकीय अधिकृत, एक सहलेखापाल, एक सवओभरसियर र एक सुब्वासहित चार जनाले मात्र सिंगो गाउँपालिका चलाउँदै आएका छन् । हाल यस गाउँपालिकामा २० हजार जनसंख्या छ ।
रासस

प्रकाशित मिति : २३ बैशाख २०७५, आइतबार ००:००