२२ वैशाख, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुत्केरी गराउन क्षेत्रीय अस्पताल सुर्खेत पुगेकी मनिषा सिंहको निधनका विषयमा आवश्यक छानबिन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
अस्पतालको लापरबाहीका कारण निधन भएको बताउँदै आन्दोलित आफन्तलाई भेट्न अस्पताल पुगेका मुख्यमन्त्री शाहीले छानबिनका लागि निर्देशन दिएका हुन् । प्रसूति व्यथा लागेर बिहिबार क्षेत्रीय अस्पत्ताल पुगेकी सिंहको शुक्रबार बिहान निधन भएको थियो ।
कालीकोट घर भएकी सिंहको निधन लगत्तै अस्पताल पुगेका आफन्तहरुले बिहान ११ बजे भर्ना गरिएकामा राति १२ बजे मात्र डाक्टरले चेकजाँच गरेको भन्दै अस्पतालको लापरबाहीको कारण मुत्यु भएको दाबी गरेका छन् ।
बिहान १० बजे क्षेत्रीय अस्पत्ताल पुगेका मुख्यमन्त्री शाहीले सिंहको निधनका बारेमा अस्पताल प्रमुख डम्बर खड्कासंग जानकारी लिनुका साथै मृतकका आफन्तजनसंग भेट गरेका थिए । स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएको बताउँदै मुख्यमन्त्री शाहीले सुत्केरी हुन अस्पताल पुगेकी महिलाको मृत्यु हुनु दुःखद भएको बताए ।
स्वास्थ्यकर्मी र अस्पताल प्रशासनको लापरबाही देखिए कारबाही हुने बताउँदै मुख्यमन्त्री शाहीले मृतकका आफन्त तथा परिवारलाई संयमित हुन आग्रह गरे ।
रासस
प्रतिक्रिया