४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्नपूर्ण गाउँपालिका घराम्दीमा ऐतिहासिक ढुङ्गेधाराको संरक्षण



२० वैशाख, बाबियाचौर– म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ घराम्दीका बासिन्दाले स्थानीयस्तरमा आर्थिक स्रोत जुटाएर ऐतिहासिक पहिचान झल्कने ढुंगेधाराको संरक्षण गरेका छन् ।

आधुनिक समाजको विकास क्रमसंगै कुनै समय गाउँबस्तीमा खाने पानी आपूर्तिको स्रोतको रुपमा रहेको ढुंगेधाराको जीर्णोद्धार गरेर व्यवस्थित बनाइएको थियो । प्रवासमा रहेका युवाको पहलमा आर्थिक स्रोत जुटाएर स्थानीय बासिन्दाले “सुनधारा” नामाकरण गरेको ऐतिहासिक सम्पदाको संरक्षण गरिएको वडा सदस्य हर्कबहादुर पुर्जाले जानकारी दिए ।

पित्तल धातु लेपन गरेर गाई र साढेको अनुहार आकार भएको दुईवटा धाराबाट पानी खस्ने बनाइएको छ । ट्यांकी निर्माण, धाराको भित्ता र भूइँमा टायल बिछ्याइएको छ । गुजुमुञ्ज ढुंगे घरको बाक्लो बस्ती रहेको घराम्दी गाउँको सबैभन्दा तल रहेको धाराको दुईतर्फ चौतारी बनाइएको छ ।

रातको समयमा उज्यालोका लागि विद्युत् जडान गरिएको छ । घर घरमा खानेपानीको धारा जडान भए पनि कपडा धुन र स्नानका लागि घराम्दीवासी उक्त धाराको प्रयोग गर्छन् । पहिले ढुंगाको धारा रहेको उक्त स्थानमा विसं २०३३ मा एक विदेशी नागरिकको पहलमा व्यवस्थित गरिएको थियो ।

“सुनधारा” घराम्दी गाउँको ऐतिहासिक पहिचान र सम्पदा भएको स्थानीय अगुवा तीर्थबहादुर फगामीले बताए । धाराको जीर्णोद्धारका लागि घराम्दी घर भई हाल साउदीमा रहेका कर्ण पुर्जा पुनको पहलमा देश विदेशमा रहेकाबाट १५ लाख ३४ हजार ४११ सहयोग जुटाइएको थियो ।

ऐतिहासिक महत्वको धाराको संरक्षण र जीर्णोद्धारका लागि सामाजिक सञ्जाल मार्फत अभियान सञ्चालन गरेर आर्थिक स्रोत जुटाइएको अभियन्ता पुर्जाले बताए । धाराको जीर्णोद्धार सम्पन्न भएपछि बचत भएको करिब पाँच लाख गाउँको ढल निकासका लागि उपलब्ध गराइएको वडा सदस्य पुर्जाले बताए ।

एक सय २० जना चन्दादाताले गरेको सहयोगको विवरण शिलालेख बनाइ सार्वजनिक गरिएको छ । ९५ घरधुरी रहेको घराम्दी गाउँमा खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयमार्फत एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

घर घरमा खानेपानी सुविधासंगै व्यवस्थित ढल निकास गरेर गाउँलाई सरसफाइमा नमूना बनाउने घराम्दीवासीको योजना रहेको छ ।
रासस

प्रकाशित मिति : २० बैशाख २०७५, बिहिबार ००:००