Logo

तारकेश्वर नगरपालिकामा बुद्धमूर्ति स्थापना



१८ वैशाख, काठमाडौं ।
दुई हजार ५६२औँ बुद्धजयन्तीका अवसरमा स्थानीय तारकेश्वर नगरपालिकामा बुद्धको मूर्ति अनावरण गरिएको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सोमबार तारकेश्वर–३ देवीस्थान, कैलाशचौरमा उक्त मूर्तिको अनावरण गर्दै मन्त्री तारकेश्वरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताए । साढे छ फिट अग्लो उक्त मूर्ति १० लाखमा बनेको हो ।

सो अवसरमा सांसद रामवीर मानन्धरले बुद्धको मूर्ति स्थापना गरिएको स्थानमा बुद्ध उद्यान बनाइने उद्घोष गरे । तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले तारकेश्वरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए ।

सो अवसरमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट प्रभावित बासिन्दाले मन्त्री बस्नेतसमक्ष आठबुँदे ज्ञापनपत्र बुझाएका छन् । मन्त्री बस्नेतले स्थानीयवासीलाई बाँदर, बाघलगायत जंगली जनावरको आतंकबाट जोगाउन पहल गरिने आश्वासन दिए ।
रासस

प्रतिक्रिया दिनुहोस्