१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशसभाः १ अर्बको बजेट पेश



१३ वैशाख, सुर्खेत ।
कर्णाली प्रदेशसभाको १६ औँ बैठकमा १ अर्ब २ करोड ५ लाखको बजेट पेश गरिएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभामा आर्थिक वर्ष ०७४/०७५ को अन्तिममा भए पनि ३ महिनाका लागि बजेट ल्याइएको बताए ।

विनियोजित बजेटमा चालूतर्फ ४३ करोड ८४ लाख ३ हजार (४२.९५५) र पूँजीगततर्फ ५८ करोड २० लाख ९७ हजार (५७.०५५) छ । योजनामन्त्री ज्वालाका अनुसार बजेटले १४ क्षेत्रलाई प्राथमिकता दिएको छ ।

बजेटमा सडक, विद्युत्, खानेपानी, सिँचाइ, सूचना प्रविधिजस्ता भौतिक पूर्वाधार विकास, प्रदेश संगठन संरचनालगायत आवश्यक भौतिक पूर्वाधारको निर्माण, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनलाई बढी प्राथमिकता दिइएको छ ।

त्यसैगरी कृषि पेशाको व्यवसायीकरण, विविधीकरण र बजारीकरण, व्यवसायमैत्री उद्योग, कलकारखाना तथा वाणिज्य क्षेत्र, जनमुखी व्यावसायिक शिक्षा, सर्वसुलभ सुविधायुक्त स्वास्थ्य सेवा, दक्ष र सीपयुक्त जनशक्तिको उत्पादन र मानव स्रोतको उचित व्यवस्थापन पनि प्राथमिकतामा राखिएको छ ।

जडिबुटीको व्यावसायिक प्रवर्द्धन, प्राङ्गारिक प्रदेशको आधारशिला निर्माण, सहकारी व्यवसाय प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन र एकता, सामाजिक सद्भाव र समावेशितामा जोड दिने कुरालाई पनि प्राथमिकतामा राखिएको छ ।

योजनामन्त्री ज्वालाले चालु आवमा प्रदेश राजश्व असुलीसम्बन्धी अलग्गै कानून तर्जुमा भइनसकेको र राजश्व संकलन तथा असुली संघीय आर्थिक ऐनअनुसार भइरहेकाले संघीय सरकारबाट वित्तीय सामान्यीकरण अनुदानस्वरुप प्राप्त रकमलाई शीर्षकगत बाँडफाँट तथा विनियोजन गरेको बताए ।
रासस

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहिबार ००:००