९ वैशाख, भक्तपुर ।
मध्यपुरथिमि नगरपालिकाको प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भएको सांघातिक आक्रमणको विरोध गर्दै आज भक्तपुरका तीन वटा नगरपालिकाले काम ठप्प पारेका छन् ।
मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले विज्ञप्ति जारी गर्दै प्रमुख श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै आज दिनभर नगरपालिका र वडा कार्यालयको काम ठप्प पारेका हुन् ।
मध्यपुरथिमि नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले तीन वटै नगरपालिकाले आक्रमणको विरोध गर्दै कामकाज ठप्प पार्ने निर्णयअनुसार दिनभर काम बन्द गरेको बताए ।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई ज्ञापनपत्र बुझाउँदै नगरपालिकाले आक्रमणकारीलाई कारबाही गर्न, नगरपालिकामा सुरक्षा व्यवस्था गर्न र नगरप्रमुखको सुरक्षाको व्यवस्था गर्न समेत माग गरेको छ ।
रासस
प्रतिक्रिया